होटल सोल्टी: जर्मनीसहित १ दर्जन सहरमा ब्रान्ड विस्तार, एकै वर्ष ८ पुरस्कार

काठमाडौं । सोल्टी होटलले गत वर्ष आम्दानी र नाफा दुवैमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । लक्जरी र आतिथ्य सत्कारमा सोल्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सोल्टी होटलको स्थापना सन् १९६५ (विसं. २०२२) मा भएको थियो । होटलको औपचारिक सञ्चालन भने नोभेम्बर २५, १९६६ (वि.सं. २०२३) मा राजा महेन्द्र वीर विक्रम शाह देवले गरेका थिए ।

नेपालको पहिलो पाँच तारे होटलका रूपमा स्थापित सोल्टीले १०४ कोठाबाट सेवा सुरु गरेको थियाे । समयसँगै विस्तार गर्दै हाल २८२ भन्दा बढी कोठा रहेका छन् । १२ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको होटलले गत वर्ष विभिन्न प्रतिष्ठित पुरस्कार पाउन सफल भएको छ ।

साथै पाहुनाहरूको अनुभवलाई ध्यानमा राख्दै होटलले आफ्नो सेवा विस्तार र स्तरोन्नतिका धेरै परियोजनाहरू पनि अगाडि सारेको छ ।

तथ्याङ्कअनुसार सोल्टी होटलले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ११.०३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष ८८ करोड ४९ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ९८ करोड २६ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीले अघिल्लो आर्थिक वर्षको ६० करोड रुपैयाँ खुद नाफा गरेकोमा गत वर्ष ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड १२ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११.०९ प्रतिशत अर्थात् १९ करोड ३७ लाख रुपैयाँ बढी खर्च गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को असोज १४ गतेसम्मको तथ्याङ्क अनुसार होटलले कूल ५२ करोड १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ५१ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा रुम अकुपेन्सी दर ५२ प्रतिशत रहेको कम्पनीले जनाएको छ, जुन गत वर्षको सोही अवधिमा ६४ प्रतिशत थियो । 

औसत रूम रेट ९ हजार ८० रुपैयाँ र कोठा उपलब्धता प्रतिकोठा आम्दानी ४ हजार ७६८ रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ९ हजार ४९६ रुपैयाँ र ६ हजार ३२ रुपैयाँ थियो । 

एकै वर्ष पायो ८ वटा अवार्ड

सोल्टीले गत आर्थिक वर्षमा आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पुरस्कार प्राप्त गरेको छ, जसले नेपालको होटल तथा पर्यटन उद्योग उत्कृष्ट रहेको प्रमाणित गरेको होटलले दाबी गरेको छ । नेपालको सभा तथा सम्मेलन गर्ने अग्रणी होटल तथा रिसोर्टका रुपमा सोल्टीले दक्षिण एशियाको प्रतिष्ठित दक्षिण एशियाली ट्राभल अवार्ड-२०२४ द्वारा लिडिङ मिटिङ एण्ड कन्फरेन्स होटल रिसोर्ट पुरस्कार प्राप्त गरेको छ । सन् २०१६ देखि दक्षिण एशियाली ट्राभलले यस क्षेत्रमा आतिथ्य तथा पर्यटन क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने संस्थालाई अवार्ड वितरण गर्दै आएको छ । 

यस्तै, एसियाको उत्कृष्ट लक्जरी होटल, नेपालको उत्कृष्ट सिटी, सम्मेलन स्थल, पारिवारिक होटल तथा एसियाको उत्कृष्ट डेस्टिनेसन बेडिङ होटल लगायतका धेरै सम्मानबाट सन् २०२४ मा होटे ग्रान्ड्योर ग्लोबलले सम्मान गरेको थियो । सन् २०१४ मा संस्थापित होटे ग्रान्ड्योर ग्लोबल होटल पुरस्कारले स्वतन्त्र रुपमा विश्वभर होटल क्षेत्रमा असाधारण उपलब्धि र आतिथ्यता सम्बन्धी उद्योगमा पुर्याएका योगदानको सम्मान र कदर गर्न अवार्ड वितरण गर्दै आएको छ । 

यस्तै, बिजनेस, लेजर, ट्राभल एण्ड माइस उत्कृष्टता पुरस्कार प्राप्त गरेको छ । मोस्ट एक्सक्लुसिभ लेजर प्रोडक्ट फर माइस शीर्षकको प्रतिष्ठित पुरस्कार सोल्टीलाई प्रदान गरिएको थियो । १५ जनवरी २०२५ मा सम्पन्न एभरेष्ट टुरिजम अवार्ड-२०२५ मा होटल टुरिजम एक्सेलेन्स अवार्ड समेथ होटल सोल्टीले प्राप्त गरेको छ । उक्त पुरस्कारले होटलको सेवाको उत्कृष्टता, उच्चस्तरीय आतिथ्यताको अनुभव तथा नेपालको आतिथ्यता सम्बन्धी उद्योगको उन्नतीमा कम्पनीले गरेको योगदान स्वरूप प्रदान गरिएको हो । 

यस्तै, मानव संसाधन व्यवस्थापन नेपालले प्रदान गर्ने होटलतर्फ कपोरेट एक्सेलेन्स अवार्ड-२०२४, इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एसोसिएसनले प्रदान गर्ने स्पटलाइट अवार्ड-२०२५ पनि सोल्टी पाएको छ ।

साथै इन्टरनेशनल सेन्टर फर रेस्पोन्सिबल टुरिजमले बिजनेस एण्ड लिजर ट्राभल मार्केट-२०२५ मा जलवायु परिवर्तन अनुकूलन श्रेणी अन्तर्गत वान टू वाचका रुपमा सम्मान प्रदान गरेको छ । सम्मानले होटलको दिगोपन, जलवायु लचिलोपन र वातावरणप्रति जिम्मेवार सञ्चालन अभ्यासहरू अंगीकार गर्ने होटलको रुपमा उजागर गरेको कम्पनीले जनाएको छ । 

श्रीलंकाको कोलम्बोमा सम्पन्न साउथ एशियन ट्राभल अवाडमा लिडिङ्ग कन्भेन्सन सेन्टर श्रेणीमा रजत पुरस्कार प्रदान पनि सोल्टीले पाएको छ । यस सम्मानले ठूला स्तरका सम्मेलन र संस्थागत रूपमा गरिने कार्यक्रम आयोजना गर्ने होटलको विशिष्ट क्षमता र सेवा, आतिथ्य, तथा सञ्चालन उत्कृष्टताको उच्च मापदण्ड कायम राख्न सक्ने दक्षतालाई प्रतिबिम्बित गरेको होटलले जनाएको छ । 

होटलले थप्दैछ संरचना 

होटलको रणनीतिक लक्ष्य अनुरूप आफ्नो सेवालाई थप सुदृढ बनाउने उद्देश्यले होटलका विभिन्न संरचनालाई पुनः निर्माण गरिरहेको कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले जनाए ।

उनका अनुसार होटलको हाल सञ्चालनमा रहेको सवारी पार्किङ सुविधाका अतिरिक्त, अत्याधुनिक अटोमेटेड पजल कार पार्किङ सिस्टम निर्माण तथा जडान गर्ने कार्य भइरहेको छ । उक्त अटोमेटेड पजल कार पार्किङ सिस्टमको क्षमता ११२ वटा सवारी साधन पार्क गर्न सकिने रहेको छ । यस परियोजनाले होटलको सवारी पार्किङ क्षमतामा ठूलो सुधार ल्याउने उनको दाबी छ । 

‘अटोमेटेड पजल कार पार्किङ सिस्टम होटलको पूर्वाधारमा गरिएको एक रणनीतिक स्तरवृद्धि हो, जसको उद्देश्य अतिथि पाहुनाहरूको बदलिँदो आवश्यकता पूरा गर्नुका साथै ठूला समारोह, कार्यक्रम तथा सम्मेलनहरूलाई प्रभावकारी रुपमा सहयोग पुर्याउनु रहेको छ,’ विष्टले भने । 

साथै उनले पुरानो कर्पोरेट अफिस भवन भत्काई उपलब्ध स्थानलाई पनि अतिरिक्त सवारी पार्किङ क्षेत्रको रूपमा निर्माण गरिने बताए । जसले थप ६८ वटा सवारी साधनका लागि विस्तारित पार्किङ स्थान उपलब्ध गराउने दाबी छ । 

होटलले विशेष परियोजनाका भण्डारण सुविधा निर्माण गरेको छ । यस परियोजनामा सामग्री तथा उपकरणहरूको एकै स्थानमा भण्डारण गर्न सहज भएको होटलले जनाएको छ । साथै, यसअघि विभिन्न स्थानमा रहेका सामाग्री तथा उपकरणहरूले अत्यधिक ठाउँ ओगटेमा यो परियोजना पछि थोरै ठाउँमा व्यवस्थित रूपमा समेटेर भण्डारण गरिएको छ ।

होटलको प्रिन्सेप विङ भवनको स्तरोन्नति सहितको पुनर्निर्माण गर्ने कार्य अघि बढाइएको एउटा महत्वपूर्ण परियोजना रहेको छ । यस परियोजना अन्तर्गत, प्रिन्सेप विङ भवनको पहिलो तला बाहेक सबै अतिथि कक्ष पुनर्निर्माण गरिनेछ, जस अन्तर्गत कोठाहरूको आन्तरिक क्षेत्रफल वृद्धि गर्दै अन्तर्राष्ट्रिय लक्वरी डिलक्स स्तरको कोठाको पुन: निर्माण गरिने होटलले जनाएको छ । 

सोल्टीले काठमाडौं उपत्यका बाहिर ट्रेडमार्क तथा ब्रान्ड अन्र्तगत स्तरीय होटल सञ्चालन गर्ने व्यावसायिक रणनीतिक निर्णय गरेको छ । सोही बमोजिम कम्पनीको पूर्ण स्वामित्व रहेको सोल्टी हस्पिटालिटी लिमिटेड नामको सहायक कम्पनी स्थापना गरेको । उक्त कम्पनीमा होटलले २५ करोड रुपैयाँ लगानी गरेको छ । यसका साथै होटलले सोल्टी हस्पिटालिटीलाई कुल १ करोड २६ लाख ४० हजार रूपैयाँ थप सेयर पुँजीमा लगानी स्वरूप अग्रिम पुँजी निवेशको लागि भुक्तानी गरिसकेको जनाएको छ । 

हिमाल इन्टरनेशनल पावर कर्प 

होटलले हिमाल इन्टरनेशनल पावर कर्प प्रालिमार्फत भोटेकोशी पावर कम्पनी प्रालिमा लगानी गरेको छ । होटलको हिमाल इन्टरनेशनल पावरको सेयर पुँजीमा ५.९७ प्रतिशत सेयर स्वामित्व छ । हिमाल इन्टरनेशनल पावरले अपर भोटेकोशी जलविद्युत् आयोजनाको स्वामित्व र सञ्चालन गर्दै आएको छ । हिमाल इन्टरनेशनलका अनुसार अपर भोटेकोशी जलविद्युत आयोजना निरन्तर रुपमा सञ्चालनमा रही राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ । विसं २०८२ असारसम्म  हिमाल इन्टरनेशनल पावर कर्प प्रालिले प्रतिसेयर ८६ रुपैयाँका दरले लाभांश वितरण गरेको थियो । सो आधारमा कम्पनीले ८५ लाख ८१ हजार ९७४ रुपैयाँ प्राप्त गरेको जनाएको छ ।

स्वदेश तथा विदेशमा ब्रान्ड विस्तार

सहायक कम्पनी सोल्टी हस्पिटालिटीमार्फत स्थानीय प्रवर्द्धकहरुसँगको साझेदारीमा संस्थापित संयुक्त निवेशको कम्पनी स्ट्रीम पीक इन्टरनेशनल प्रालिमा लगानी गरेको छ । उक्त कम्पनीले स्वदेश तथा विदेशमा तारे होटल व्यवस्थापन र सञ्चालन गरिरहेको छ । स्ट्रीम पीक इन्टरनेशनले सहायक कम्पनी सोल्टी हस्पिटालिटीको स्वामित्वमा रहेका ट्रेडमार्क तथा ब्राण्डहरू ट्रेडमार्क लाइसेन्स सम्झौता बमोजिम ब्रान्ड, ट्रेडमार्क, तथा व्यापारिक नाम प्रयोग गरी विभिन्न लक्जरी तथा तारे होटलको व्यवस्थापन तथा सञ्चालन गरीरहेको छ । 

स्ट्रीम पीक इन्टरनेशनले नेपालको विभिन्न प्रमुख शहरहरूमा अवस्थित होटलको विविध ब्रान्ड, ट्रेडमार्क, तथा व्यापारिक नाममा व्यवस्थापन तथा सञ्चालन गरिरहेको छ । जसअनुसार लुम्बिनी प्रदेशको नेपालगञ्जमा पाँचतारे सोल्टी वेस्टेण्ड प्रिमियर र टाइगर प्यालेस बाई सोल्टी रूपन्देही, कोशी प्रदेशको इटहरीमा सोल्टी वेस्टेण्ड इटहरी, बागमती प्रदेशको भरतपुर चितवनमा सोल्टी वेस्टेण्ड रिसोर्ट र भक्तपुरमा सोल्टी वेस्टेण्ड रिसोर्ट नगरकोट, गण्डकी प्रदेश पोखरामा सोल्टी वेस्टेण्ड लेकसाइड र गोरखाको मनकामनामा सोल्टी बेस्टेण्ड रिसोट्र्स मनकामना, मधेश प्रदेशको वीरगञ्जमा सोल्टी वेस्टेण्ड रिसोट्र्स र जनकपुरमा मिथिला यात्री निवास व्यवस्थापन तथा सञ्चालन भइरहेको कार्यकारी अध्यक्ष विष्टले जानकारी दिए । 

दीर्घकालीन व्यावसायिक विस्तार रणनीतिक विकासको लक्ष्य अनुरूप सोल्टी होटल्स एण्ड रिसोर्टले स्ट्रीम पीक इन्टरनेशनल मार्फत दक्षिण एशियादेखि युरोपसम्म होटल व्यवस्थापन तथा सञ्चालन विस्तार गर्दै अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ । यसबाट कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन विस्तार गर्ने पर्यटनमा यो एउटा महत्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको उनको भनाइ छ । होटल व्यवस्थापनमा अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने क्रममा स्ट्रीम पीक इन्टरनेशनले जर्मनीको फ्राइफर्ट शहरमा सोल्टी होटल्स एण्ड रिसोर्ट ब्रान्ड तथा ट्रेडमार्क अन्तर्गत २ वटा व्यवसायीक होटल सोल्टी बेस्टेण्ड मेसी फ्राइफर्ट र सोल्टी होटल फ्राइफर्ट मेसीको पनि व्यवस्थापन गरिरहेको छ । स्ट्रीम पीक इन्टरनेशनले रणनीतिक होटल व्यवस्थापन सम्झौतामार्फत नेपाल तथा अन्तर्राष्ट्रिय पर्यटन बजारहरूमा लक्जरी होटलको विस्तार गर्दै होटलहरू व्यवस्थापन तथा सञ्चालन गरिरहेको छ ।

दिगोपनको लागि होटलको प्रयास 

सोल्टीको दिगोपनप्रतिको प्रतिबद्धता केवल नियमहरूको पालनामा मात्र सीमित छैन । स्थानीय समुदाय र पर्यावरणीय प्रणाली दुवैमा सकारात्मक प्रभाव सिर्जना गरी होटलले वातावरणीय संरक्षणप्रति अडिग प्रतिबद्ध भई कार्य गरिरहेको कार्यकारी अध्यक्ष विष्टले बताए । लक्जरी आतिथ्य सेवा प्रकृतिसँगको मेलमिलापमा नै अवस्थित हुन्छ भन्ने होटलको विश्वास रहेको उनको भनाइ छ । 

‘होटलले आफ्नो पारिस्थितिक प्रभाव (एकोलोजीकल पदचिन्ह) न्यूनीकरण गर्दै अतिथिहरूको बसाई अनुभवलाई समग्र रुपमा सुधार गर्ने लक्षित व्यापक पहलहरु कार्यान्वयन गरेको छ । जसले वातावरण संरक्षण र सेवा प्रदान गरिने समुदायहरूको भलाइका लागि अर्थपूर्ण योगदानको सुनिश्चित गर्ने गरी होटलको सञ्चालनका सबै पक्षमा दिगोपनका अभ्यासहरु समाहित गरिएका छन्,’ उनले भने । 

दिगोपनका लागि गरिने प्रमुख पहलमा नवीकरणीय ऊर्जामा होटलले महत्वपूर्ण लगानी समावेश गरेको छ, ५०६ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणालीको स्थापना । जसले जीवाष्म इन्धनमा निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्न योगदान पुर्याउने उनले बताए । यस्तै, पानीको कुशल व्यवस्थापन, फोहर घटाउने प्रयास र वातावरणीय सचेतना प्रवर्द्धन गर्न लक्षित समुदायको संलग्नता कार्यक्रम पनि रहेको उनको भनाइ छ । 

दिगो सौर्य प्यानल उर्जा

होटलले दिगो लक्जरी आतिथ्य प्रतिको प्रतिबद्धता जनाउँदै सौर्य ऊर्जा कम्पनी घाम पावरसँगको सहकार्यमा ५०६ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गरेको छ । यस सौर्य ऊर्जा पहलले उपलब्ध छाना र पार्किङ क्षेत्रको प्रयोग गरी नवीकरणीय ऊर्जा संकलन गर्नेछ । जसले आगामी १४ वर्षसम्म बिजुलीको उपभोगलाई घटाउने अपेक्षा गरिएको होटलले जनाएको छ । साथै उक्त परियोजनाले करिब ९९५ टन कार्बन उत्सर्जन कम गर्ने अनुमान रहेको विष्टको भनाइ छ । जसले कम्पनीको सफा र दिगो भविष्य प्रवर्द्धन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति सुनिश्चित गर्नेछ । वातावरणीय लाभ बाहेक, कम्पनीले बिजुली लागतमा करिब २५ प्रतिशत कटौती गर्ने अपेक्षा राखेको छ । 

पानी बोटलिङ प्लाण्ट

होटलको अत्याधुनिक खानेपानी बोटलिङ प्लान्ट पनि सञ्चालन गरिरहेको छ । सम्बन्धित स्थानमा नै पानी शुद्ध पारेर बोटलिङ गर्ने प्रक्रियाले वातावरणीय प्रदूषण रोक्नमा महत्त्वपूर्ण योगदान पुर्याउन प्लास्टिक बोटलमा होटलको निर्भरता हटाएको छ । यस पहलले पाँचतारे स्तरको होटलहरुबाट पानीको प्लास्टिक बोटल हटाउने सरकारी नीतिलाई पूर्ण रुपमा कार्यान्वयनमा आएको होटलले जनाएको छ । साथै बोटलमा पानी ढुवानी गर्दा हुने कार्बन पद चिन्ह कम गर्नुका साथै अतिथिहरूलाई होटल परिसर भित्रै सजिलै उपलब्ध ताजा र शुद्ध पानीको पहुँच सुनिश्चित गरेको जनाएको छ । 

प्रयोग गरिने ग्लास बोटलहरु प्राकृतिक सामग्रीबाट निर्माण गरिएका छन् र बिपीए वा फ्थालेट जस्ता हानिकारक रासायनिक पदार्थहरूबाट मुक्त छन्, जसले मानव स्वास्थ्य र वातावरण दुवैमा जोखिम घटाउँछ । होटलको आफ्नै पानी बोटलिङ प्लाण्टबाट बोटलमा पानी उत्पादन गरेबाट होटलले प्लास्टिक फोहोर न्यूनीकरणमा महत्वपूर्ण प्रगति गरेको छ र समग्र अतिथि अनुभवलाई समेत सुधार गर्न सहयोग पुगेको होटलले जनाएको छ । 

हाउसकिपिङमा दिगो अभ्यास 

होटलको हाउसकीपिङ्ग विभागले फोहोर घटाउने र महत्वपूर्ण स्रोत संरक्षणमा केन्द्रित विविध नवप्रवर्तनशील दिगोपन अभ्यासहरु लागू गरेको छ । बल्क डिस्पेन्सर बोटलहरुको व्यवस्थाले प्लास्टिक फोहोरलाई उल्लेखनीय रुपमा घटाएको छ । साथै व्यक्तिगत साबुनको सट्टा डिस्पेन्सरको प्रयोगले स्रोतहरुको अधिक कुशल उपयोग सुनिश्चित गरेको होटलले जनाएको छ । होटलका लिनेन पुनः प्रयोग कार्यक्रमले अतिथिहरूलाई आफ्नो लिनेन र टॉवलहरु एक दिन भन्दा बढी प्रयोग गर्न उप्रेरित गर्दछ, जसले दैनिक लाखौं ग्यालन पानी बचत गर्न र ग्रेवाटर उत्पादन घटाउन मद्दत गर्छ । 

मिटिङ र कार्यक्रममा जग र काराफमा पानी उपलब्ध गराउनका लागि पानी रिफिल स्टेशनहरुको व्यवस्था गरिएको छ, जसले एकपटक प्रयोग हुने बोटलको निर्भरतालाई कम गरेको छ । यसले होटलको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाएको छ । यी दिगोपन अभ्यासका पहलहरुले वातावरणीय क्षेत्रमा सकारात्मक योगदान पुयाउने मात्र नभइ सञ्चालन दक्षता र अतिथिको सन्तुष्टिलाई पनि सुधार गरेको होटलले जनाएको छ ।

फोहोर व्यवस्थापन

होटलले स्रोतमा फोहोर छुट्याउने प्रणालीमा आधारित व्यापक फोहोर व्यवस्थापन कार्यक्रम सुरू गरेको छ । यो व्यवस्थाले फोहोरको प्रकार र मात्रा सही तरिकाले छुट्याउन सहज बनाई फोहोर उत्पादनलाई कम गर्ने लक्षित प्रयासहरुलाई सहयोग पुर्याएको छ । खानाको फोहोर घटाउनु र एकपटक प्रयोग हुने प्लास्टिक माथिको निर्भरतालाई कम गर्नु यसका मुख्य प्राथमिकताहरु रहेका छन् ।

‘यी लक्ष्यहरु प्राप्त गर्न स्थलमै कम्पोस्टिङ सुविधा स्थापना गर्ने योजना अघि बढाइएको छ । यस प्लान्टले खाना फोहोर, बगैंचाको फोहोर र कागज जस्ता कम्पोस्ट योग्य सामग्रीलाई सुधार गरी होटलको बगैचा र ग्रीनहाउसमा प्रयोगका लागि जैविक, रासायन रहित मल उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यो पहल फोहोरलाई मूल्यवान स्रोतमा परिणत गरेर दिगोपनलाई बढाउने क्लोज्ड लूप दृष्टिकोणको एक उदाहरण हो । यी उपायहरुका माध्यमबाट होटलले आफ्नो वातावरणीय पदचिन्हलाई घटाउने, सञ्चालन दक्षता सुधार्ने र दिगो अभ्यासप्रति निरन्तर प्रतिवद्धता सुदृढ गर्ने लक्ष्य राखेको छ ।’

विद्युतीय सवारी साधन र चार्जिङ स्टेशन 

पाहुनाहरूलाई विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले होटल परिसरमा विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशन स्थापना गरेको छ । यो पहलले परम्परागत पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनबाट विद्युतीय विकल्पमा रुपान्तरणलाई सहयोग गर्ने तथा हरितगृह ग्यास उत्सर्जनमा उल्लेखनीय रूपमा कमी ल्याउनको लागि पनि योगदान पुर्याउँने होटलले जनाएको छ । विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय सवारी साधन चार्जिङ्ग सुविधा उपलब्ध गराएर, होटलले अतिथि पाहुनाहरूलाई आफ्नो बसाई अवधिमा वातावरण सचेत यातायात विकल्प अपनाउन सशक्त बनाएर सुविधा र दिगोपन दुवैमा वृद्धि गर्नेछ । 

स्थानीय उत्पादन बिक्रेतालाई सहयोग 

होटलका सेवा तथा उत्पादनहरुमा नेपालमा उत्पादित तथा निर्मित उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सक्रिय रुपमा स्थानीय बिक्रेताबाट होटलमा खपत हुने सामग्रीहरूको खरिदलाई प्राथमिकता दिएको छ । उच्च गुणस्तरका मापदण्डहरुको पालनालाई सुनिश्चित गरी समुदाय भित्रको सिल्पकला र व्यवसायहरुलाई सहयोग गरेर स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने तर्फ उन्मुख रहेको होटलले जनाएको छ । स्थानीय निर्मित बस्तुको खरिदलाई जोड दिँदै होटलले लामो दूरीको ढुवानीसँग सम्बन्धित वातावरणीय प्रभावलाई घटाई सामुदायिक विकासमा व्यापक योगदान पुर्याउँदै आएको छ । दिगोपनका लागि माथि उल्लेखित व्यापक पहलहरुको माध्यमबाट दी सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन होटल्सले लक्जरी आतिथ्यका लागि वातावरणीय संरक्षणसँग सुसंगत रुपमा सहअस्तित्व कायम राख्न सक्ने सम्बन्धमा आत्मसात गरेको छ । यस क्षेत्रमा भएको होटलको निरन्तर प्रतिबद्धताको उद्देश्य आतिथ्य उद्योगलाई व्यापकरूपमा प्रेरित गर्नु मात्र नभई समुदाय र वातावरण दुवैका लागि हरित र दिगो स्वच्छ भविष्यका लागि सक्रिय योगदान पुर्याउनु पनि रहेको छ । 

Share News