सन्तोष चालिसेविरुद्ध अख्तियारले गर्‍यो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर रहेको समयमा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको प्रमाण फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

आयोगले चालिसेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि अघि बढाएको छ ।

अख्तियारले अनुसन्धानका क्रममा सार्वजनिक पदमा रहँदा उनले आर्जन गरेको सम्पत्ति वैध स्रोतसँग मेल नखाने निष्कर्ष निकालेको जनाएको छ । 

अख्तियारको दाबीअनुसार चालिसेले ३ करोड ६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेका थिए । मुद्दामा सोही बराबरको बिगोसमेत मागदाबी गरिएको छ । 

यस विषयमा थप कारबाही विशेष अदालतको निर्णयअनुसार अघि बढ्ने आयोगले स्पष्ट पारेको छ ।

Share News