काठमाडौं । नेकपा एमाले आगामी नेतृत्व चयन प्रक्रियातर्फ अग्रसर भएको छ । पहिलो पटक पार्टीमा ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा विशेष कोटा दिने निर्णयसहित एमाले आन्तरिक निर्वाचनतर्फ अघि बढेको नेताहरूले बताएका छन् ।
एमालेको आगामी केन्द्रीय कमिटीमा ४० वर्षभन्दा कम उमेर समूहबाट विभिन्न क्लस्टरबाट १५ जना केन्द्रीय सदस्य चयन हुने एक नेताले जानकारी दिए ।
पार्टीमा १ अध्यक्ष, १ महासचिव, ५ उपाध्यक्ष, ३ उपमहासचिव र ९ सचिवसहित ३०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछ ।
साथै, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगको समेत निर्वाचनको तयारी सुरु गरिएको निर्वाचन आयोगका एक नेताले जानकारी दिए ।
भक्तपुरको सल्लाघारीमा हिजो आयोजित महाधिवेशन उद्घाटनसँगै पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया सुरु गर्ने भएको हो । एमालेले नीतिगत तथा विधानगत तयारी गत भदौमै सम्पन्न गरिसकेकाले अब प्रत्यक्ष रूपमा नेतृत्व चयनतर्फ लागेको एक नेताले जानकारी दिए ।