इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए ।

पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् ।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।

Share News