काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेर प्रीअलटमेन्ट भइसकेको, ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुलदा गरिनेछ ।
अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।