काठमाडौं । गुल्मीमा यस वर्ष सुन्तला उत्पादन उल्लेख्य मात्रामा घटेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा करिब २० करोड ६७ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्ष २४ करोड ५० लाख रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको थियो ।
यस वर्ष उत्पादन झण्डै ३२ प्रतिशतले घटेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।
गुल्मीमा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसान थोरै भए पनि केही कृषकले वार्षिक दश लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको उनले बताए ।
दश लाख रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बच्ने धुर्कोट गाउँपालिकाका खुमबहादुर पुन, टीका हमाल र विष्णुप्रसाद खनाल रहेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार यी किसानहरूले बर्सेनि उच्च आम्दानी गर्ने सुन्तला उत्पादकका रूपमा पहिचान बनाएका छन्।
जिल्लामा उत्पादन भएको सुन्तलामध्ये यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला मात्रै जिल्ला बाहिर निर्यात हुने सूचना अधिकारी न्यौपानेले जानकारी दिए । गत वर्ष १३ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको थियो ।
जिल्लामा ८८५ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन हुने भए पनि अहिले ६१५ हेक्टर जमिनमा उत्पादन भइरहेको केन्द्रले जानकारी दिएको छ ।
जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला फलफूल जोन कार्यक्रम लागू गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ ।
मदानेको पुर्कोटदह, धुर्कोटको पिपलधारा, सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खलेलगायत स्थानमा चक्लाबन्दी गरेर व्यावसायिक सुन्तला खेती विस्तार गरिएको छ ।