मुग्लिन-पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

काठमाडौं । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्ड अन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।

यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडक छेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्ड अन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । 

हाल २ लेनमा कालोपत्रको काम भइरहेको छ भने २ लेन सकिएपछि अर्को २ लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलोमिटर खण्डमा ४ लेन र ७.७९ किलोमिटर खण्डमा २ लेन कालोपत्र सम्पन्न भएको छ ।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्य बमोजिम ११ वटै पुल बनेका छन् । 

६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए । 

विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो । 

Share News