एमालेको महाधिवेशनलाई ख्याल गर्दै नागढुङ्गा-मलेखु सडक २ दिन बन्द नहुने

काठमाडौं । दैनिक ५ घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडक खण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ ।

नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ ।

२ दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए ।

उनले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक ५ घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’

युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि २ दिन सडक खुला गरिदिन आग्रह गरेका थिए ।

सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

Share News