काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।
सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि २ सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुलमध्ये अरुण खोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुण खोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ ।
‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने ।
दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने बाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन ।
नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुनेछ ।