लुम्बिनी फाइनलमा प्रवेश, विराटनगर ४० रनले पराजित

अब ट्रफी जित्न लुम्बिनीले सुदूरपश्चिमँग भिड्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो । 

अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले यसपटक उपाधि जित्ने सपना नजिक पुगेको हो । यो जितसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको रोमाञ्चक भेट पक्का गरेको छ । एनपीएलको ‘ग्रान्ड फिनाले’ शनिबार हुनेछ ।

लुम्बिनीको लोभलाग्दो ‘कम्ब्याक’

लुम्बिनी लायन्सको फाइनल यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिलो सिजनमा अंक तालिकाको सबैभन्दा पुछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने गजबको पुनरागमन गरेको छ । एलिमिनेटरमा बलियो मानिएको काठमाडौं गोर्खाजलाई ४ विकेटले पाखा लगाएर आएको लुम्बिनीले दोस्रो क्वालिफायरमा पनि आफ्नो लय कायमै राख्दै ऐतिहासिक फाइनल स्थान सुरक्षित गर्यो ।

लिग चरणमा शानदार प्रदर्शन गरेको विराटनगर किंग्सका लागि भने ‘प्लेअफ’ दुर्भाग्यपूर्ण साबित भयो । लगातार दुईवटा क्वालिफायर खेल्ने मौका पाउँदा पनि विराटनगरले त्यसलाई सदुपयोग गर्न सकेन ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो हार बेहोरेको विराटनगरले दोस्रो मौका (क्वालिफायर-२) मा पनि लय समात्न सकेन। लिग चरणको उत्कृष्ट प्रदर्शनलाई नकआउट चरणमा निरन्तरता दिन नसक्दा विराटनगर उपाधि नजिक पुगेर पनि बाहिरिन बाध्य भयो ।

अब शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमै विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

गत सिजनको पुछारको टोली लुम्बिनी र लगातार फाइनल पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ ।

Share News