काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले अभियन्ताको भेषमा असुलीर्कताहरुको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाएको आरोप लगाएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताको भेषमा रहेका असुलीकर्ताहरूको एक सङ्गठित समूहले लगानीकर्ताहरूलाई त्रसित बनाउन र नियामक निकायलाई ब्याकमेल गर्न कपोलकल्पित र भ्रामक अफबाह फैलाएको आरोप लगाएको हो ।
कम्पनीको प्रतिष्ठामाथि आँच पुग्ने गरी फैलाइएका यी आरोपहरू सतप्रतिशत झूटा, बदनियत पूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएको कम्पनीले जनाएको छ ।
‘सर्वोच्च अदालतले उनीहरूको आधारहीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरे लगत्तै यो चरित्र हत्याको अभियान सुरु गरिएको हो । अदालतको कानुनी लडाइँमा असफल भएपछि गिरोहले झुटको खेतीको सहारा लिएको स्पष्ट छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बजारमा वित्तीय आतङ्क फैलाएको र आपराधिक मानहानि गर्ने गिरोहलाई प्रचलित कानून बमोजिम राज्यका सम्बन्धित निकायहरूमा कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
साथै बार्गेनिङ र ब्याकमेलिङ विरुद्ध ४ हजार कर्मचारी र २० हजार भन्दा बढी लगानीकर्ताहरूका साथ अझै उभिरहने कम्पनीले जनाएको छ ।
१.६० अर्बको रुपैयाँको आवेदन
कम्पनीले गत मंसिर २२ गतेदेखि मंसिर २५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको थियो ।
आवेदन दिने अन्तिम दिन विहीबारसम्म कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेका ३४ हजार २८७ जना लगानीकर्ताले १९ लाख ५२ हजार ४७० कित्ता सेयरका लागि १ अर्ब ६० करोड २५ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।