पुटिन-सुबियान्तो भेट : भारत, रूस र ग्लोबल साउथको शक्ति-समीकरणमा नयाँ संकेत

पुटिनको भारत भ्रमणमा विश्वको ध्यान

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० डिसेम्बरमा मस्कोस्थित क्रेमलिनमा आफ्ना इन्डोनेशियाली समकक्षी प्रबोवो सुबियान्तोसँगको भेटवार्ता गर्दै । तस्बिर : एलेक्जान्डर जेमलियानिचेन्को/रोयटर्स

काठमाडौं । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हाल रूसको भ्रमणमा छन्, जहाँ उनले दुबै देशबीचको सैन्य सहकार्यदेखि लिएर व्यापारसम्मका विषयमा छलफल गरेका छन् । 

यस दौरान मस्कोमा उनको भेट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भयो । भेटवार्तामा सुबियान्तोले पुटिनलाई इन्डोनेशिया आउने निम्ता दिए र यस क्रममा भारतको पनि उल्लेख गरे ।

सुबियान्तोले भने, ‘म तपाईंलाई इन्डोनेशिया आउने निम्ता दिन चाहन्छु । तपाईंलाई जब समय मिल्छ, २०२६ वा २०२७ मा । तपाईं आउनुभयो भने हामीलाई धेरै खुसी हुनेछ । किनकि मात्र भारत नै त्यो देश हुनु हुँदैन जहाँ तपाईं जानुहुन्छ ।’

सुबियान्तोको यो कुरा सुनेर पुटिन पनि मुस्कुराए ।

पुटिन ४ र ५ डिसेम्बरमा भारतको दुईदिने औपचारिक भ्रमणमा थिए । यस क्रममा दुबै देशबीच धेरै सम्झौताहरू भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई गरेको स्वागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भयो ।

यो इन्डोनेशियाका राष्ट्रपतिको यस वर्षको रूस दोस्रो भ्रमण थियो । पुटिन केही समयदेखि ग्लोबल साउथका मुलुकहरूसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्, ताकि युक्रेन युद्धपछि अमेरिका र पश्चिमी देशहरूले लगाएका प्रतिबन्धबीच रूसको अर्थतन्त्रलाई पुनः अघि बढाउन सकियोस् ।

पुटिनले भेटवार्तामा इन्डोनेशियासँग बढ्दै गएको सैन्य सम्बन्धबारे खुसी व्यक्त गर्दै भने कि रूस परमाणु ऊर्जा क्षेत्रमै पनि इन्डोनेशियालाई सहयोग गर्न तयार छ ।

यसभन्दा पहिला पुटिनले मंगलबार भारतको प्रशंसा गर्दै भनेका थिए कि भारत पनि रूसकै जस्तै ‘विविधतामा एकता’ भएको देश हो र यस ‘विशेषता’लाई जोगाएर राख्नु अत्यन्त महत्त्वपूर्ण छ ।

सिभिल सोसाइटी एन्ड ह्युमन राइट्स काउन्सिललाई सम्बोधन गर्दै पुटिनले भने, ‘म हालै भारत गएको थिएँ, जहाँ डेढ अर्ब मानिस बस्छन् । तर करिब एक तिहाइ अर्थात् झण्डै ५० करोडले मात्र हिन्दी बोल्छन् । बाँकी सबैले फरक–फरक भाषा बोल्छन् । कहिलेकाहीँ त उनीहरू एकअर्काको कुरा पनि बुझ्दैनन् । रूसमा पनि करिब २७० भाषा बोलिन्छन् । दुवै देशभित्र कति विविधता छ । भारत र रूसजस्ता देशहरूको यस बहुसांस्कृतिक पहिचानलाई हामीले बचाएर राख्नु छ ।’

पुटिनको भारत भ्रमण चर्चित बन्नुको कारण

पुटिनको भारत भ्रमणका क्रममा दुबै देशबीच मिडिया, अन्तरिक्ष (स्पेस) र फर्मा क्षेत्रलगायत करिब एक दर्जन समझौतामा सहमति भएको थियो । यद्यपि कुनै ठूलो घोषणा नभए पनि विश्वभर अमेरिकी र युरोपेली प्रतिक्रिया तथा भारतको आतिथ्यका कारण यो भेटघाट निकै चर्चामा रह्यो ।

संयुक्त राज्य अमेरिकाले भारतले रूसी तेल किन्दै आएको भन्दै ५० प्रतिशत टैरिफ लगाएको छ ।

अमेरिका लगातार भारतलाई रूसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ ।

धेरै युरोपेली देशहरूले पनि भारत–रूस व्यापारिक सम्बन्धप्रति आपत्ति जनाउँदै यसले ‘युक्रेन युद्धमा पुटिनलाई अप्रत्यक्ष सहयोग’ पुर्याइरहेको दाबी गरेका थिए ।

भारतले भने यो आरोपलाई सदैव अस्वीकार गर्दै आएको छ र आफ्नो नीति ‘घरेलु उपभोक्ताको हितअनुसार निर्णय लिनु’ रहेको बताउँदै आएको छ ।

यी सबै कारणहरूलाई लिएर नै पुटिनको भारत भ्रमणमा विश्वको ध्यान परेको थियो ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जाकुनले नियमित प्रेस ब्रिफिङमा भने, ‘चीन, भारत र रूस द्रुत गतिमा बढिरहेका अर्थतन्त्र हुन् र ग्लोबल साउथको महत्त्वपूर्ण हिस्सा हुन् । तिनबीचको राम्रो सम्बन्ध केवल तिनकै लागि होइन, विश्व शान्तिका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’

यसअघि रूसी मिडियाले पनि पुटिनको भारत भ्रमणलाई ट्रम्प र युरोपेली देशका लागि ‘असहज बनाउने घटना’ भनेर वर्णन गरेको थियो ।

५ डिसेम्बर शुक्रबार रूसी सरकारी टिभीको करेन्ट अफेयर्स टक शोमा होस्टले पुटिनको भारत भ्रमणबारे युरोपेली मिडियामा आएका टिप्पणीकामाथि व्यङ्ग्य गरे ।

रसिया–१ च्यानलको ‘६० मिनेट्स’ कार्यक्रममा होस्ट ओल्गा स्काबेयेभाले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई जुन तरिकाले स्वागत गरे त्यसले ‘रूसका विरोधीहरूलाई असहज बनाएको’ हुनुपर्छ ।

त्यसैगरी रूसी विश्लेषक भ्लादिमिर कोर्निलोभले पुटिनको भारत भ्रमणलाई ‘वास्तविक अर्थमा एउटा वैश्विक घटना’ भने ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का पूर्व अधिकारी माइकल रुबिनले एएनआईसँग कुरा गर्दै भने, ‘भारत र रूसलाई नजिक ल्याउन डोनाल्ड ट्रम्प नोबेल पुरस्कारका हकदार छन् ।’ 

‘रूसको दृष्टिकोणले हेर्दा यो भ्रमण अत्यन्त सकारात्मक छ र भारतले पुटिनलाई जुन सम्मान दियो, त्यो उनलाई संसारका अन्य ठाउँमा पाउन कठिन छ । म त भन्छु, ट्रम्पलाई नोबेल पुरस्कार मिल्नै पर्छ किनकि भारत र रूस जसरी एकअर्कासँग नजिक आए, त्यो उनकै कारण सम्भव भएको हो,’ उनले भने ।

(बीबीसी हिन्दीबाट अनूदित तथा सम्पादित)

Share News