लाभांशसहित सीएसआरमा भएको खर्च अनुमोदन गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंकले सीमा भन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)मा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १६ लाख ७० हजार १०५ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी हो । 

बैंक सञ्चालक समितिले उक्त प्रस्ताव पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । 

बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

यस्तै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने वा प्राप्ति सम्बन्धी कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । साथै बैंकको सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । 

गत आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ४ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागीता जनाई लाभँंश प्राप्त गर्न सक्नेछन् । 

Share News