काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) बिक्री गर्ने कम्पनी एनईभी नेपाल प्रालिले सवा १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २६ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ४१.४० प्रतिशत अर्थात् ३७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ ।
अगस्ट २, २०१९ मा स्थापित एनईभी नेपालले चीनको डीएफएसके ब्रान्डका विद्युतीय सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै नेपाल सरकारले विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धनका लागि ल्याइरहेको नीतिले एनईभीको व्यवसायलाई सहयोग पुर्याइरहेको बताइएको छ ।
कम्पनीको आम्दानी प्रत्येक वृद्धि हुँदै गएको देखिन्छ । यसअघि सन् २०२३ मा कम्पनीले ४८ करोड रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १२ करोड ९० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
पछिल्लो ५ वर्ष तथा सन् २०२१ को तुलनामा सन् २०२५ मा कम्पनीको आम्दानी ८८२.१७ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ८० लाख रुपैयाँ बढी हो ।
कम्पनीको मुख्य सेयरधनी राजन रायमाझी हुन् । जसको कम्पनीमा ४६ प्रतिशत सेयर स्वामित्व रहेको छ । रायमाझी दीगो ग्रुप अफ कम्पनीका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् ।
वातावरणमैत्री सवारी सानन उपलब्ध गराउने लक्ष्यसहित जिरो कार्बन उत्सर्जन अभियानमार्फत उनले दीगो ग्रुप अन्तर्गत विभिन्न पाँच कम्पनीको नेतृत्व गर्दै आएका छन् । साथै विद्युतीय सवारी साधन प्रवर्द्धन तथा आवश्यक पूर्वाधार विकासका दीगो समूहले नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा देशभर चार्जिङ स्टेसन निर्माण गर्दै आएको छ ।
आम्दानी बढेका आधारमा कम्पनीको बजार उपस्थिति बलियो बन्दै गएको देखिन्छ । तर, कम्पनीको खुद नाफा भने अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । सन् २०२४ मा १५.९४ प्रतिशत खुद नाफा रहेकोमा सन् २०२५ मा घटेर १३.५२ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । जसमा ४० करोड २० लाख रुपैयाँ दीर्घकालिन र ८९ करोड ८० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्याङ्क छ ।