काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सभापति पदप्रति आफ्नो आकांक्षा रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी, लोकतन्त्र र जनहितलाई प्राथमिकता दिएर आफू आवश्यकताअनुसार शून्यदेखि सयसम्म अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।
भण्डारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ । देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार आवश्यक रूपमै अघि बढ्न तयार छु ।’
साथीभाइको सुझाव, समयको माग र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै निर्णय अघि बढ्न आफू तयार रहेको पनि भण्डारीले उल्लेख गरेका छन् । ।
१५ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व चयनका विषयमा चहलपहल बढ्दै गएको छ । भण्डारीको यो अभिव्यक्तिलाई सभापति पदमा सम्भावित दाबेदारका रूपमा खुलेर प्रस्तुत भएको संकेतका रूपमा हेरिएको छ ।
भण्डारीको स्टाटस गुल्मीका धेरै कांग्रेस नेताहरूले सेयरसमेत गरेका छन् । भण्डारीका स्वकिय सचिव समेत रहेका बोधराज कँडेलले पनि भण्डारी आगामी १५ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने तयारी गरेको जानकारी दिए ।