काठमाडौं । सर्वोत्तम सिमेन्टले मंसिर २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नै कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 'सुखद जीवनका लागि हौँ निरोगी' भन्ने सन्देशसहित गरिएको यस कार्यक्रममा ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
सहभागीहरूलाई कम्पनीले निःशुल्क औषधि पनि वितरण गरेको जनाएको छ । शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट), नेत्ररोग विशेषज्ञ र छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) सहित २२ जना स्वास्थ्यकर्मीले निःशुल्क सेवा प्रदान गरेका थिए ।
उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रूपमा उपस्थित रहेका थिए ।
उपमहाप्रबन्धक घिमिरेले कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने लक्ष्य रहेको बताए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै जाने कम्पनीको प्रतिबद्धता व्यक्त गरे ।