काठमाडौं । सर्वोच्च अदालतले पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पक्षमा आदेश दिएसँगै ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो कार्यशैलीबारे प्रष्टोक्ति दिएका छन् ।
उनले कसैप्रति पनि प्रतिशोधपूर्ण हिसाबले काम गर्ने आफ्नो कुनै इन्टेन्सन नरहेको भन्दै देश विकास प्रतिशोधले नभई काम र नतिजाले मात्र सम्भव हुने बताएका छन्।
‘हाम्रो कसैलाई इन्टेन्सनल्ली प्रतिशोध साध्ने कुनै पनि त्यस्तो इन्टेन्सन छैन,’ उनले भने, ‘ प्रतिशोध साँधेर देश विकास हुँदैन ।’
घिसिङले आफूहरूले परिणाममुखी काम हेर्ने र कार्यसम्पादनलाई प्राथमिकता दिने बताए ।
कसैले पनि प्रधानमन्त्रीले प्रतिशोध साधेर यस्तो गर्यो भन्ने भाष्य निर्माण गर्न नहुने घिसिङको तर्क छ ।
‘यदि कसैले रिजल्ट ओरिएन्टेशनमा रिजल्ट दिन सक्दैन भने, रिजल्ट ल्याउन सक्दैन भने हामीले त्यस्ता प्रोजेक्ट म्यानेजर, त्यस्ता सम्बन्धित निकायका प्रमुखहरूलाई कारबाही गर्न सक्नुपर्छ,’ उनले भने, ‘यदि कारबाही गरिएन भने रिजल्ट आउँदैन ।’
उनले राइट म्यान इन राइट प्लेस इन राइट टाइमको सिद्धान्तमा जोड दिँदै सही व्यक्ति सही ठाउँमा भए मात्र काम हुने बताए ।
गलत व्यक्तिलाई एक ठाउँमा राखिरहँदा काम नहुने, नतिजा नआउने र त्यसको समस्या जनता र देशले भोग्नुपर्ने उनको भनाइ छ ।
घिसिङले आफू हरेक क्षेत्रमा नतिजालाई नै विशेष फोकस गरेर जानुपर्ने बताउँदै आफूले हाल हेरिरहेका सडक विभाग, सहरी विकास, सिँचाइ र ऊर्जा मन्त्रालयका साथीहरूलाई पनि काम गर्न र नतिजा दिन मात्रै भनेको स्पष्ट पारे ।
‘जसले रिजल्ट दिन्छ, उहाँहरू नै लिड गर्नुपर्छ,’ उनले भने, ‘अनावश्यक रुपले किन सरुवा गर्नुपर्यो ? नतिजा दिने सबै आफ्नो मान्छे हो ।’
मन्त्री फेरिएपिच्छे पुरै कर्मचारी सरुवा गर्ने, अर्को मन्त्री आउनासाथ पुरै परिवर्तन गर्ने परम्पराको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
सर्वोच्च अदालतले सोमबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुन:स्थापना गर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको हो ।
यससँगै शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्ने वातावरण समेत मिलाउन भनिएको छ ।
जेनजी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।
आफूलाई कार्यकारी निर्देशकबाट हटाइएपछि उनी सर्वाेच्च पुगेका थिए ।