ठेक्का तोड्दा बाँकी असुली गर्नुपर्ने प्रावधान हटाउनुपर्छः पूर्वसचिव थापा

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा पूर्वाधार विज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुग्ण ठेक्का सहज अवस्थामा आएपनि जिरोमा पुर्याउन आवश्यक रहेको बताए । 

उनका अनुसार २०७५ मंसिरसम्म ११८ अर्बका १८४८ वटा ठेक्का रुग्ण थिए भने १ हजार ३२ ठेक्काको म्याद नै ग्रुजिएको अवस्था थियो । त्यसैगरी, २३ अर्ब ६० अर्ब पेश्की उठ्न बाँकी थियो  भने ५ अर्ब ९० करोड कार्य सम्पादन जमानत जोखिममा थियो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा अध्ययन गरेर ३०–३५ वटा सुझाव दियो । जनशक्ति थप गर्ने, कर्मचारीको क्षमता बृद्धि गर्ने, ठेक्कालाई सहजीकरण गर्ने, अनुगमन गर्ने लगायतका सुझाव दियो । सबैले  पालना गरे । त्यसकारण १८ सयभन्दा बढी रुग्ण ठेक्का अहिले ४०० सयमा सीमित भएको हो । यसलाई जिरोमा पुर्याउन पर्छ,’ उनले भने ।

पछिल्लो समय कोराना महामारी, भुक्तानीमा भएको ढिलाई लगायतका कारण ठेक्का रुग्ण भएको थापाले बताए। 

‘यसबीच कोरोना महामारी आयो । त्यसपछि दुई तीन वर्ष निर्माण व्यवसायीको भुक्तानी दिन सकिएन । यसका कारण पनि ठेक्का रुग्ण भए,’ उनले भने, ‘अहिले पनि २०७५ कै अभ्यासबाट रुग्ण ठेक्का व्यवस्थापन गर्नुपर्छ । कडाइ गर्दै ठेक्का व्यवस्थापनमा अघि बढ्नुपर्छ ।

अपर्याप्त बजेट र भुक्तानीमा भएको ढिलाइका कारण  ठेक्का रुग्ण भएको उनले बताए । 

साथै कर्मचारीका कारण पनि ५–७ प्रतिशत ठेक्का रुग्ण भएको उनको भनाइ छ । 

त्यस्तै, उनले ठेक्का रुग्ण हुन नदिन कानुनमा सुधार ल्याएर सक्षम ठेकदारलाई छनोट गर्नुपर्ने बताए । यसैगरी भेरिएसन र म्याद थपलाई व्यवस्थीत गर्नुपर्ने उनको भनाइ छ । 

Share News