काठमाडौं । विश्वभरका गाडी किन्नेमध्ये धेरै उपभोक्ता पुनः आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीतर्फ फर्किन थालेको अर्न्स्ट एण्ड यङ (ईवाई) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टले देखाएको छ ।
अस्थिर नीति, व्यापार युद्ध र ईभीसम्बन्धी पूर्वाधार तथा लागतप्रतिको बढ्दो शंकाका कारण यस्तो भएको रिपोर्टमा उल्लेख छ ।
डिजेल तथा पेट्रोलबाट चल्ने कारको बिक्री सहज बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्ना पुख्र्यौली सरकारद्वारा तयार गरिएका फ्युल–इकनोमी स्ट्यान्डर्डहरू ठूलो मात्रामा घटाउने प्रस्ताव पेश गरे । युरोपेली युनियनले समेत सन् २०३५ पछि आईसीई बन्द गर्ने योजना फितलो पारिएको संस्करण छिट्टै ल्याउन सक्ने संकेत छ ।
ईवाई ग्लोबल एयरोस्पेस, डिफेन्स एण्ड मोबिलिटीका प्रमुख कोन्स्टान्टिन एम. गालका अनुसार ईभीतर्फको रूपान्तरण अपेक्षाभन्दा ढिलो गतिमा अघि बढेपछि नीतिहरू परिवर्तन भइरहेका हुन् ।
उनका अनुसार चिनियाँ उपभोक्ताहरू धेरै ईभी किनिरहे पनि उनीहरूका लागि गाडी केले चल्छ भन्ने भन्दा पनि कति राम्रोसँग डिजिटल लाइफस्टाइलसँग एकीकृत हुन्छ भन्नेमा बढी चासो छ ।
जहाँ एकातिर परम्परागत गाडी निर्माता कम्पनीहरूले जीवाश्म इन्धनको प्रयोग कम गर्ने गति सुस्त चाहन्छन् भने विद्युत् यातायात समर्थक समूहहरूले सीओटू उत्सर्जन नियन्त्रणका लागि ईभीतर्फ छिटो संक्रमण अत्यावश्यक भएको बताउँदै आएका छन् ।
पश्चिमी नीतिनिर्माताहरूले चीनका भारी रूपमा अनुदान प्राप्त ईभीहरूबाट आफ्ना बजार जोगाउन आयात शुल्कजस्ता कडा उपायहरु अपनाइरहेका छन् । तर अमेरिकन र युरोपेली कार निर्माताहरूले विश्वबजारमा चीनका पेट्रोलबाट चल्ने कारहरूसँग समेत कडा प्रतिस्पर्धा भोगिरहेका छन् ।
विश्वभरका ५० प्रतिशत गाडी खरिदकर्ताहरू आगामी २४ महिनामा नयाँ वा पुरानो पेट्रोलरडिजेलबाट चल्ने कार किन्न चाहन्छन्— यो दर २०२४ को तुलनामा १३ प्रतिशतले बढेको हो ।
ब्याट्री–इलेक्ट्रिक कारप्रतिको रुचि १० प्रतिशत बिन्दुले घटेर १४ प्रतिशतमा पुगेको छ । हाइब्रिड कारप्रतिको रुचि ५ प्रतिशतले घटेर १६ प्रतिशत मात्र बाँकी छ ।
सम्भावित ईभी खरिदकर्तामध्ये ३६ प्रतिशतले भू–राजनीतिक परिस्थितिका कारण खरीद पुनर्विचार वा ढिलाइ गरिरहेका छन् ।
‘हामीले हालै युरोपेली युनियनसँग छलफल गरेका छौं । उनीहरूले ग्रिन डिलको पुनर्मूल्यांकनका लागि ‘ड्यु–डिलिजेन्स’ गरिरहेका छन्... अहिले उनीहरू धारणा वा विश्वासभन्दा वैज्ञानिक तथ्यमा बढी ध्यान दिन थालेका छन्,’ गालले भनिन् ।