इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी लेनिसा घिमिरे सम्मानित

काठमाडौं । इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा वार्षिक दीक्षान्त समारोह २०२५ रूपमा सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो ।

अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको समारोहमा स्नातकहरूको उपलब्धि, सिकाइ यात्रा र भविष्यका अवसरबारे चर्चा गरियो ।

कलेजका अनुसार यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको छ । निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताका आधारमा प्रदान गरिने यस छात्रवृत्तिले विद्यार्थीलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा दिने विश्वास कलेजले व्यक्त गरेको छ ।

कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुखलगायत प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो । स्नातकहरूलाई बधाई दिँदै अध्यक्ष बुढाथोकीले भने, 'विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता हो ।'

सोही कार्यक्रममा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले कलेज तथा विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्दै आइएनजी–लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाइने बताए ।

कलेजले दीक्षान्त समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको जनाउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर र विद्यार्थी क्षमताविकासलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News