काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डेटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् ।
खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरे ।
अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेनजी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए ।
उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो ।
मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् ।
त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेनजी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसासमेत गरे ।
बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए ।
सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए ।
विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पुर्यायाउँदै एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ ।
नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ ।