करेन्ट नूडल्स अब ग्रीन इनर्जीबाट बनाइने : यशोदा फुड्स

काठमाडौं । करेन्ट नुडल्स उत्पादन गर्ने यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटामा ८६५ केडब्ल्यूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेको छ । कम्पनीले २३ नोभेम्बर देखि यस सौर्य ऊर्जाबाटै उद्योग सञ्चालन गर्न थालेको जनाएको छ ।

यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ । कम्पनीले आफूलाई 'नेपालकै पहिलो ग्रीन नुडल्स उत्पादन केन्द्र' का रूपमा स्थापित गरेको घोषणा गरेको छ । कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा जडान गर्ने पहिलो उद्योग यही हो ।

कम्पनीका अनुसार यस प्रणालीले उद्योगको करिब ८० प्रतिशत विद्युत आवश्यकताहरू पूरा गर्नेछ । साथै ६५ प्रतिशत विद्युत खर्च घट्ने, प्रयोगविहीन छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ ।

यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा प्रदान गरेको थियो । साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले जर्मन अनुदान डीकेटीआई कार्यक्रम अन्तर्गत व्याज अनुदानसहित अतिरिक्त आर्थिक सहयोग गरेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी साहले भने, 'हामी नेपालकै पहिलो सौर्य प्रणालीयुक्त नुडल्स प्लान्ट सञ्चालन गर्न पाएकोमा निकै गर्वित छौँ । ८५६ केडब्ल्यू क्षमताको यो प्रणालीबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुनेछ र करिब २ हजार टन कार्बन–डाइ–अक्साइड उत्सर्जन बचत हुनेछ । यसले उत्पादन लागत घटाउँछ र हामीलाई बजारमा अझ प्रतिस्पर्धी बनाउँछ ।'

त्यसबेला एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशन (कार्बन घटाउने) दिशामा अघि बढाउन सहयोग गर्ने बताए ।

प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गका अनुसार परियोजना तीन महिनाभित्रै सम्पन्न गरिएको हो ।
यो प्रणालीमा उच्च कार्यक्षमताका दुइतर्फी (बाइफेसियल) सौर्य प्यानल, नवीन सौर्य पीभी प्रविधि र कृत्रिम बुद्धिमत्तायुक्त (एआई–सक्षम) स्मार्ट इनभर्टर प्रयोग भएको उनको भनाइ छ ।

विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री र कम खर्चिलो ऊर्जा विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका उद्योगहरूले पनि छानामाथिको सौर्य ऊर्जा प्रणालीलाई सस्तो विद्युत स्रोत र कार्बन उत्सर्जन घटाउने उपायका रूपमा तीव्र गतिमा अपनाइरहेका छन् ।

एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले यस्तो प्रणाली जडान गरिसकेका छन् । यो संख्या दैनिक बढ्दै छ । नेपाल जलविद्युतमा धनी भए पनि सौर्य ऊर्जा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको छ ।

त्यसैगरी, नेपाल विद्युत प्राधिकरणले नेट–मिटरिङ सुविधा उपलब्ध गराएको हुँदा उद्योगहरूलाई अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउने अवसर पनि मिल्दछ । यसले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउँछ र पूर्वाधार खर्च पनि कम हुन्छ ।

 

Share News