राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न, गुणात्मक कर्जा विस्तारमा जोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता, चुनौतिहरू र बैंकले निभाउनुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि, बैंकमा रहेका प्रचुर निक्षेपलाई गुणात्मक कर्जामा रूपान्तरण गर्ने उपाय, तथा सम्भावित ग्राहकहरूको अवस्था विश्लेषणसहित शाखा कार्यालयहरूले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्व दिनुपर्ने र क्षेत्रगत सम्भावनालाई समेटेर रणनीति बनाउनुपर्ने निर्देशन दिए । उनले सरकारी बैंकप्रति सर्वसाधारणको धारणा थप सकारात्मक बनाउन, सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्न र गुनासोमुक्त सेवा सुनिश्चित गर्न शाखाहरूलाई आग्रह ग रे।

सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जावान रहेको उल्लेख गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा रूपान्तरण गर्न निर्देशन दिए ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा रहेको निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणात्मक कर्जा वृद्धि, सेवा प्रवाहमा सुधार र शाखा प्रबन्धकहरूको नेतृत्वदक्षता महत्वपूर्ण रहने बताए। उनले सेवाग्राहीसँगको व्यवहार सकारात्मक बनाउन, कर्जा विस्तार लक्ष्यअनुसार अघि बढ्न र गुनासो न्यून बनाउन ध्यानाकर्षण गराए ।

खनालले शाखा, प्रदेश तथा केन्द्रीय कार्यालयका कर्मचारीको क्षमता अभिवृद्धि तथा कर्जा गुणस्तरीयता सुधारका लागि नियमित तालिममा बैंकले विशेष जोड दिने पनि स्पष्ट पारे ।

कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक कार्यक्रम विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए । नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपकार्यकारी अधिकृत विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, रामकुमार थापा, विभागीय प्रमुख तथा प्रादेशिक प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

Share News