काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनलाई लक्षित गर्दै छुट्टै नीतिगत दस्तावेज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दर्ता गराएका छन् । महासचिव शंकर पोखरेललाई भेटेर उनले आफ्नो समूहका नेतासहित दस्तावेज बुझाएका हुन् ।
मंसिर २७ देखि सुरू हुने महाधिवेशनमा छलफलमा ल्याउने उद्देश्यले संस्थापनइतर पक्षले तयार पारेको यो दस्तावेजले आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको एक नेताले बताए । दस्तावेज बुझ्दै महासचिव पोखरेलले यसलाई सचिवालय तहमै पेस गरिएको भए उपयुक्त हुने टिप्पणी गरेका थिए ।
महासचिव पोखरेलले दस्तावेज बुझ्दै ‘सचिवालय तहको बैठकमा बुझाएको भए पनि हुन्थ्यो नि’ भनेका थिए ।
यसअघि उक्त दस्तावेज केही सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेपछि पार्टीलाई औपचारिक रूपमा बुझाउन ल्याइएको भन्दै आलोचना भएको थियो । तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने दस्तावेज विधिअनुसार दर्ता गरिएको जिकिर गरेका छन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको जनाउँदै उनका निकट नेताहरूले यो दस्तावेज पार्टीको नीति तथा दिशानिर्देशनमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको बताएका छन् ।