बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

काठमाडौं । रुपन्देहीको बुटबलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।

‘समृद्ध नेपान निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा आधुनिक स्तरका स्टलहरु राख्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मेला मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

अध्यक्ष पराजुलीले भने– ‘उद्योग संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेका जानकारी गराउन चाहन्छु । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाई १० वटा ‘पेभिलियन’ हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन । पसलको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।’

मेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता प्रर्दशनीले अर्थतन्त्र चलायमान बनाउन र माग बढाउन सघाउ पुग्ने बताए । उनकाअनुसार स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदनप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरु र सरकारी निकायबीच अन्तरसंवाद, आन्तरिक तथा वाह्य ओद्योगिक बातावरणको जानकारी दिने उद्देश्यले गर्न लगिएको मेलाले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्नेछ ।

परिसंघ अध्यक्ष पाण्डेले भने–‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । माग बढाउनुपर्ने पनि छ । यो किसिमको प्रदर्शनीले त्यसमा महत्वपूर्ण भुमिका खेल्नेछ । रुपन्देही उद्योग संघको अगुवाईमा निरन्तर प्रदर्शनि भइरहेको कार्यक्रम हो । यसले छुट्टै किसिमको माहोल बनाउनेछ । डिमाण्डलाई हामीले कसरी हुन्छ बढाउनुपर्छ । यही शिलशिलामा पुषको ३ देखि १७ गतेसम्म बुटवलमा मेला हुन लागेको छ ।’

प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिनेछन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५ सय स्टलहरु रहनेछन् । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । 

Share News