काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाको परामर्श दाता कम्पनी छनौटमा २७ करोड भन्दा बढिको घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । परामर्श दाता छनौटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैंयाँ ६२ पैसा अनियमितता भएको भन्दै अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
आयोगले आयोजना प्रमुख मोतिवहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र परामर्श दाताका रुपमा छानिएको कम्पनी स्मेक–एमडब्ल्युएच–उदयका नेपाली प्रतिनिधी उदीपलाल श्रेष्ठ बिरुद्ध मुद्धा दायर गरेको हो ।
आयोजनाको विस्तृत संभाव्यता अध्ययनको लागि परामर्शदाता छनौटको सिलसिलामा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा आफू अनुकूल बढि रकम कवोल गर्ने प्रस्तावकलाई बढि अङ्क र कम अङ्क कवोल गर्नेलाई कम अङ्क दिई बढि रकम कबोल गर्ने कम्पनीलाई छनौट गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐनको दफा २१ बमोजिम १३ करोड ६२ लाख २७ हजार १ सय ७५ रुपैंयाँ ८१ पैसा जरिवाना र एक वर्ष कैद सजायको मागसहित मुद्धा दायर गरेको हो ।