काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ । निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेपछि काठमाडौंमा आयोजना गरिएको यो सभा पार्टीको संरचना विस्तार र औपचारिक उपस्थितिको रूपमा अर्थ्याइएको छ ।
‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको उक्त सभामा धरान उपमहानगरपालिकाका मेयर तथा पार्टी अध्यक्ष हर्कबहादुर साम्पाङ स्वयं उपस्थित रहेका थिए । साम्पाङले भाषण सुरु गर्नु अघि गीतसमेत गाएका थिए। कार्यक्रममा पार्टीका सक्रिय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको औपचारिक सुरुवात साम्पाङले परम्परागत शैलीमा पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा श्रम, इमानदारी, सुशासन र स्थानीय स्तरबाट सुरु हुने राजनीतिक–सांस्कृतिक परिवर्तनका एजेन्डामा जोड दिइएको थियो ।
सभामा बोल्ने अधिकांश वक्ताहरूले श्रम–केन्द्रित राजनीति, भ्रष्टाचारविरुद्धको जनअभियान, स्थानीय विकासमा जनसहभागिताको भूमिका र वैकल्पिक राजनीतिक संस्कृतिका पक्षमा धारणा राखेका थिए । साथै, कार्यक्रममार्फत काठमाडौं उपत्यकामा पार्टीको संगठन विस्तार, नयाँ सदस्य भर्ना गर्ने योजना तथा आगामी राजनीतिक अभियानका कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।