काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा शाखाले सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
सिफारिस सूचीमा परेका मध्ये सहसचिव राजेन्द्रकुमार पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन् ।
सहसचिव कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । यस्तै, इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठता आधारमा बढुवा हुने प्रचलन रहेकाले पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बढी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।