काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचन र पार्टी महाधिवेशन दुवैको तयारीलाई एकैसाथ गति दिएको छ । पार्टीभित्र लामो समयदेखि रोकिएको सक्रिय सदस्यता नवीकरण र नयाँ वितरण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।
जिल्लाबाट प्राप्त विवरण समेटेर केन्द्रीय कार्यालयले सदस्यता सूचीको फाइनल तयारी गरिरहेको एक नेताले जानकारी दिए ।
यससँगै कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस प्रक्रिया पनि सुरु गरिसकेको जनाएको छ ।
संगठन विभागमार्फत जारी गरिएको परिपत्रमा स्थानीय तह, प्रदेश र जिल्ला समितिहरूलाई आ–आफ्नो क्षेत्रअनुसार योग्य, सक्षम तथा जित्ने सम्भावना भएका व्यक्तिहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय पठाउन निर्देशन दिएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाका लागी उमेदवार छनौट गरेर पठाउन निर्देशन आएकोले जिल्लाले उम्मेदवार सिफारिस तयारी गरेको धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीनजना सिफारिस गर्ने केन्द्रको निर्देशन रहेको छ ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीले विधानअनुसारका सबै संरचनालाई सक्रिय बनाउने उद्देश्य राखेको बताएको छ ।
संगठन सुदृढीकरण, आन्तरिक एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकतामा राख्दै कांग्रेसले द्वन्द्वपूर्ण राजनीतिक वातावरणबीच समयमै महाधिवेशन सम्पन्न गर्ने र आमचुनावमा प्रभावकारी रूपमा प्रस्तुत हुने रणनीति अगाडि सारेको केन्द्रीय सदस्य प्रकाश रसाइलीले जानकारी दिए ।
कांग्रेसभित्र सदस्यता नवीकरण र सिफारिस प्रक्रियाले चहलपहल बढाएको छ । विभिन्न समूह र नेताहरू पनि महाधिवेशनमा प्रभाव जमाउन सक्रिय देखिन थालेका छन् । आगामी केही साताभित्र अधिकांश प्रक्रियाहरू औपचारिक रूपमा सकिने पार्टी नेताहरूले बताएका छन्।