राष्ट्र बैंकलाई ओभरटेक गर्दै बहालवाला सीईओलाई सीआईबीको हतकडी, त्रसित छन् बैंकर र व्यवसायी

काठमाडौं । हाल बैंकिङ क्षेत्र तरंगित छ । बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ऋणी पक्राउ परेपछि बैंकर र व्यवसायी त्रासमा छन् । गत मंसिर १४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ पक्राउ गर्यो ।

सोही मुद्दामा सम्बन्धित रहेको भन्दै सीआईबीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । शाक्य पक्राउले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने उद्योगी व्यवसायी त्रासमा छ ।

‘प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरूको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा सीईओ शेरचन समेतले राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेकाले पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको छ,’ सीआईबीले भनेको छ ।

बहालवाला सीईओ शेरचन पक्राउ गरेर बैंकिङ क्षेत्रमा सीआईबीले आक्रमण गरेको आरोप बैंकरहरूले लगाएका छन् । बैंकिङ क्षेत्रका अब्बल नियामक नेपाल राष्ट्र बैंक हुँदा हुँदै पनि सीआईबीको प्रवेशले बैंकरहरू रुष्ट बनेका हुन् ।

‘हामीले आवाज उठाइरहेका छौं । आफ्नो ठाउँबाट कोसिस पनि गरिरहेका छौं । हामीले सीआईबीको टोलीसँग भेट गरेका थियौं । किन बैंकरलाई पक्राउ गर्नु भएको हो ? भनेर प्रश्न गरेका छौं,’ नेपाल बैंकर्स संघका एक पदाधिकारीले भने, ‘राष्ट्र बैंकसँग पनि कुराकानी गर्याैं र अशोकजीसँग पनि भेट गर्याैं ।’

यसरी ऋण दिने बैंकर र ऋण लिने उद्योगी व्यवसायी पक्राउ पर्दा भोलिका दिनमा लगानीको वातावरण नरहने ती बैंकरको भनाइ छ । तर, सीआईबीले फौजदारी प्रकृतिको मुद्दा हो भनेपछि बैंकर्स संघले बलियो रूपमा आवाज उठाउन नसकेको उनले बताए ।

‘यस मुद्दामा ऋण दिएको र लिएको आधारमा मात्रै पक्राउ गरिएको होइन भनिएको छ । ऋण दिएका कारणले पक्राउ गरिएको थियो भने बैंकर संघले सशक्त आवाज उठाउँथ्यो । तर, त्यो विषयसँग सम्बन्धित छैन भनेपछि हामीलाई बोल्न अप्ठ्यारो परेको हो,’ उनले भने ।

बैंकिङ मुद्दामा किन सीआईबी ?

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का पदाधिकारीहरू मुद्दाको स्वरूपबारे नै अनिश्चित छन् । केही अनियमितता देखिए पनि सीआईबीले नियामकलाई छलेर बैंकिङ क्षेत्रमा प्रवेश गरेको जस्तो देखिएको एक पदाधिकारीले बताए । यदि यो बैंकिङ कसुर हो भने राष्ट्र बैंकमार्फत प्रक्रिया चल्नुपर्ने हो । तर अहिले सिधै प्रहरी प्रवेश गरेको र जसले नियामक निकायकै अधिकारमाथि प्रश्न उठाएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का एक पदाधिकारीले बताए । 

‘यदि बैंकिङ कसुर थियो भने राष्ट्र बैंकमार्फत जानुपर्ने हो । सिधै पक्राउ पर्दा नियामक निकाय मार्फत जानुपर्ने भएकाले घुमेर बैंकिङ क्षेत्रमा प्रवेश गरेको देखिन्छ । यसले नियामकमाथि पनि प्रश्न उठेको छ,’ उनले भने, ‘यदि प्रभु म्यानेजमेन्टमार्फत बैंकमाथि अप्रत्यक्ष हस्तक्षेप गरेको हो भने भविष्यमा झन् खतरनाक हुन सक्छ । किनभने भोलिका दिनमा प्रत्येक ऋणीमार्फत बैंकिङ क्षेत्रमा सीआईबी छिर्न सक्ने ठाउँ खुला भएको छ ।’ 

साथै ऋणीमार्फत बैंकरहरू पक्राउ परेका हुन् भने भविष्यमा सबै बैंकर खोरमा जान सक्ने उनको भनाइ छ । उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थामा आ-आफ्नै किसिमका समस्या छन् । तर, यो मुद्दाले समाधानतर्फ भन्दा पनि बल्झाउने हो की भन्ने चिन्ता बढेको उनले बताए ।

सीईओ शेरचन पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र नै सुस्ताएको एक बैंकका सीईओले बताए । बैंकहरुले नगद कारोबार, प्रोजेक्ट लगायत विषय अध्ययन गरेर कर्जा दिएका हुन्छन् । तर, सबै ऋणमा पर्याप्त धितो नहुने भएकाले बैंकरलाई पक्राउ गर्नु उचित नरहेको उनको भनाइ छ ।

‘क्यास फ्लो, प्रोजेक्ट अध्ययन गरेर कर्जा दिएका हुन्छन् । प्रोजेक्ट लोन सबैमा सतप्रतिशत धितो नै हुन्छ भन्ने हुँदैन । यदि ऋण दिएका आधारमा पक्राउ परेका हुन् भने हाइड्रोमा ऋण दिएका सबै सीईओ फस्न सक्छन् । किनकी हाइड्रोका लागि धितो नै राखिएको हुँदैन,’ उनले भने, ‘एउटा बहालवाला सीईओ पक्राउ गर्दा बैंकिङमा ठूलो त्रासको वातावरण श्रृजना उत्पन्न भएको छ । एक सहकर्मी वा एउटै क्षेत्रमा काम गर्ने साथी पक्राउले हामी चिन्तित छौं ।’

अझै राम्रो र सुदृढ बैंक बनाउने 

प्रभु बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) निरज लम्साल बैंकका सबै सूचक अब्बल रहेको बताउँछन् । बाह्य रुपमा विभिन्न गतिविधि भइरहेको देखिएपनि हरेक क्षणमा बैंकलाई सूक्ष्म रूपमा हेरिरहेको उनको भनाइ छ । 

‘बैंकका सबै सूचक राम्रा छन् । स्मुथ्ली चलिरहेको छ । हामी प्रत्येक क्षण क्षण हेरिरहेका छौं । कुनै सूचकांकमा गिरावट आएको छैन,’ उनले भने, ‘भविष्यमा बैंकलाई अझै राम्रो र सुधृढ बनाउँछौं । हामी यसमा कन्फिडेन्स छौं । हामी टिममा काम गर्छाैं । बिहान ७ बजेदेखि सक्रिय भएर काम गरिरहेका छौं ।’ 

विगतमा विभिन्न अराजक समूहले अराजक गतिविधि गर्दा एनआईसी एशिया बैंकको निक्षेप स्वाट्टै घटेको थियो । तर, प्रभु बैंकमा त्यो समस्या नरहेको बैंकले जनाएको छ । कामु सीईओ लम्सालका अनुसार कर्मचारीहरुमा गिरेको मनोबल बढाउने काम भइरहेको छ । 

‘कर्मचारीहरूमा कन्फिडेन्ट दिने काम गरिरहेको छु । सबै कर्मचारीहरूले आ-आफ्नो क्षेत्रमा काम गरिरहेका छन्,’ उनले भने, ‘अपराधी नै ठहर गरेको भएको होइन । अपराधसिद्ध गरेर सजाय पाउनु पर्नेमा पहिला नै सजाय दिने गरियो । यसले गर्दा तनाव पक्कै हुन्छ नै ।’

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार सीईओ शेचरन लगायत बैंकरलाई बैंकिङ कसुरमा नै पक्राउ गरिएको हो । प्रहरीले विभिन्न प्रमाणहरू संकलन गरेर अनुसन्धानका लागि पक्राउ गरिएको उनको भनाइ छ । 

‘प्रहरीले प्रमाण संकलन गरेर पक्राउ गरेको हो । हामीले बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाइएको हौं । अदालतको अनुमति लिएर काम गरेको हो,’ उनले भने, ‘यो बैंकिङ कसुर हो । राष्ट्र बैंकको नियमन र अनुगमनकारी भूमिका रहन्छ । कसुर भएको प्रमाण भयो भने अनुसन्धान गर्ने प्रक्रिया हाम्रो भूमिका हो । यो पूर्ण रुपमा बैंकिङ कसुर हो । बैंकिङ कसुर अनुसूची १ मा भएपछि स्वतः फौजदारी भइहाल्यो । हामी थप अनुसन्धान गरिरहेका छौं । बाँकी थप प्रमाणले हेर्छ ।’

Share News