बाढीले क्षतिग्रस्त रसुवागढी हाइड्रो पुन: सञ्चालनमा, २ अर्ब बराबर नोक्सान

काठमाडौं । गत असार २४ गतेको बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत् उत्पादन गर्ने ३ वटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो ।

ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युतगृहमा पानी पठाइएको र अन्य २ युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वले जानकारी दिए ।

१११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उत्पादनको एक वर्ष नपुग्दै बाढीले क्षति पुर्याएको थियो । ४ महिनाको अवधिमा उत्पादनबाट पौने २ अर्ब रूपैयाँ बराबर नोक्सान भएको कार्यकारी निर्देशक ज्याख्वले बताए । 

ल्हेन्दे खोलाको बाढीले सुरुङमा पानी लैजाने बाँधको ढोका फोेरेर विद्युत्गृहसम्म नै माटो, काठ, ढुङ्गामुढा तथा हिलो पुगेका कारण दुई युनिटको सफाइ कार्य तीव्र रूपमा भइरहेको मर्मतमा संलग्न प्राविधिकले बताएका छन् ।

Share News