फक्सवागनको ठूलो दाउ : बजार जोगाउन १८६ अर्ब डलर लगानी गर्ने

पोर्शे तथा फक्सवागनका सीईओ ओलिभर ब्लुमे । फाइल तस्बिर ।

काठमाडौं । फक्सवागन समूहले सन् २०३० सम्म १६० अर्ब युरो (१८६ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । उक्त घोषणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले गरेका हुन् ।

कम्पनीका दुई प्रमुख बजारहरू चीन र संयुक्त राज्य अमेरिकामा आएको ठूलो संकटको बीच यूरोपको शीर्ष अटो निर्माता खर्च कटौतीतर्फ उन्मुख भएको संकेत हो।

वार्षिक रूपमा अपडेट गरिने फक्सवागनको पाँच वर्षे लगानी योजनाअनुसार कुल खर्च २०२५–२०२९ अवधिका १६५ अर्ब युरो र २०२४–२०२८ अवधिका १८० अर्ब युरोसँग तुलना हुन्छ । २०२४ लाई खर्चको शीर्ष वर्षका रूपमा लिइएको थियो ।

त्यसयता पोर्शे र अडी ब्रान्ड समेट्ने फक्सवागन अमेरिकाबाट आयातमा लगाइएका शुल्क र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाबाट दबिएको छ ।

यसले विशेषगरी पोर्शेको नाफामा ठूला असर पारेको छ किनकि पोर्शेले आफ्ना करिब आधा कार यिनै दुई बजारमा बेच्ने गर्छ । पोर्शेले आफ्नो विद्युतीय सवारीसाधन रणनीतिमा व्यापक कटौती गर्ने घोषणा पनि गरिसकेको छ ।

साप्ताहिक पत्रिका फ्याङ्कफुर्टर फ्रान्कफुर्टर आल्गेमाइन सोन्टाग्सायतुङसँगको कुराकानीमा ब्लुमेले नयाँ खर्च योजनाको केन्द्रबिन्दु ‘जर्मनी र यूरोप’ हुने बताए ।

उनले पोर्शेमा थप बचत कार्यक्रमबारेको छलफल २०२६ सम्म जारी रहने बताए ।

जनवरीदेखि पोर्शे सीईओ पद छोडेर केवल फक्सवागनको नेतृत्वमा ध्यान दिने ब्लुमेले जनाएछन् । उनका अनुसार अडीका लागि सम्भावित अमेरिकी प्लान्टको निर्णय वाशिङ्टनले दिने आर्थिक सहयोगको स्तरमा निर्भर हुनेछ ।

चीनमा पोर्शेको वृद्धि अपेक्षित नभए पनि ब्लूमेले फक्सवागन समूहभित्र स्थानीय उत्पादन सम्भव हुने बताए । साथै चीनका लागि छुट्टै डिजाइन गरिएको पोर्शे मोडेल भविष्यमा अर्थपूर्ण हुनसक्ने टिप्पणी गरे ।

फक्सवागन ग्रुपले २०२५ को तेस्रो त्रैमासिकमा १.३ अर्ब यूरो सञ्चालन घाटा दर्ज गरेको छ । विगत वर्षको सोही अवधिमा कम्पनीले २.७ अर्ब यूरो नाफा कमाएको थियो ।

कम्पनीका अनुसार घाटाको मुख्य कारण पोर्सेको विद्युतीय कार रणनीतिमा गरिएको पुनरावलोकन हो, जसअन्तर्गत आएको खर्च वृद्धि तथा एकमुष्ट खर्चले समूहको नतिजालाई ठूलो दबाबमा पारेको छ ।

यसबाहेक अमेरिकी आयातशुल्कले पनि फक्सवागनको व्यापार लागत उल्लेख्य रूपमा बढाएको बताइएको छ।
 

Share News