४.६५ मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान, ५.५० मेट्रिक टनको लक्ष्य

काठमाडौं । सरकारले हालसम्म ४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ ।

रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो सातासम्म २ लाख ६६ हजार ५१० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।

कृषि सामग्री कम्पनीले ८८ हजार २१३ मेट्रिक टन युरिया, ९२ हजार २७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले २४ हजार ४९८ मेट्रिक टन युरिया, ५३ हजार ७९५ मेट्रिक टन डीएपी र ७ हजार ७२५ मेट्रिक टन पोटास आयातको क्रममा रहेको जनाएको छ ।

यस्तै, कूल ८६ हजार ३३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार ८१८ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनमा २८ हजार ५१४ मेट्रिक टन उपलब्ध छ ।

यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा १ लाख २० हजार ५९७ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ । खेतिपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अवलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । 

Share News