काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति औपचारिक रूपमा घोषणा गरेसँगै पार्टीले क्रियाशील सदस्यताको प्रक्रिया छिट्टै टुङ्ग्याउने तयारी गरेको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिले १६५ निर्वाचन क्षेत्रमा दुई दिन भित्र पार्टी सदस्यता पुर्याउने तयारी गरेको छ ।
पार्टीको क्रियाशील सदस्यता संकलन प्रक्रिया गत वर्षदेखि देशभर तीव्र रूपमा चलिरहे पनि टुङ्गिन सकेको छैन । जिल्ला, नगर, गाउँपालिका र वार्डस्तरमा सदस्यता केन्द्रहरू सञ्चालन गरेर सदस्यता नविकरण र वितरण सुरु गरिने समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए ।
रसाइली भन्छन्, 'महाधिवेशनको मिति निश्चित भएसँगै हामीले सदस्यता प्रक्रिया छिटो टुङ्ग्याउने योजना बनाएका छौं । यसले प्रतिनिधि चयन र मतदान प्रक्रियालाई सहज र पारदर्शी बनाउनेछ ।'
महाधिवेशनमा प्रदेश, जिल्ला र केन्द्रीय स्तरका प्रतिनिधिहरूको चयन क्रियाशील सदस्यताको आधारमा हुने भएकाले सदस्यताको अन्तिम सूची तयार पार्नु पार्टी नेतृत्वको प्राथमिकता बनेको छ । डिजिटल प्रणालीको प्रयोग गर्ने तयारी पनि भइरहेको छ ।
यसैबीच, पार्टीले सदस्यता प्रक्रिया पूरा गर्न जिल्लास्तरीय समितिहरूलाई निर्देशन दिइसकेको प्रकाश रसाइलीले बताए ।