हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न, ९०३ विद्यार्थी दीक्षित

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा यस वर्ष कलेजका ९०३ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित विद्यार्थीहरूमा ६४५ जना बीएससी (कम्प्युटर साइन्स), ५२ जना बीआईबीएम (इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट) र २०६ जना आईएमबीए (इन्टरनेसनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन) तहका विद्यार्थी रहेका छन् ।

यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (आईएनजी) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्ट ग्राजुएट छात्रवृत्तिको परम्परा जारी राखेको छ । उत्कृष्ट विद्यार्थी सक्षम शर्मा, जो बीएससी (कम्प्युटर साइन्स) तहमा अध्ययनरत छन्, उनी यस छात्रवृत्तिको प्राप्तकर्ता बनेका छन् । सक्षम शर्माले अब बेलायती इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन जारी राख्नेछन् । छात्रवृत्तिसँगै उनलाई आईएनजी अन्तर्गत कुनै संस्थामा कार्य अवसर पनि प्रदान गरिनेछ ।

समारोहमा सम्बोधन गर्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्रीलाई विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको पनि उल्लेख गरे ।

Share News