काँकरभिट्टाबाट मात्रै ६ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व २.९० प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

चालु आवको ४ महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख रुपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रुपैयाँ पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख रुपैयाँ पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।  

Share News