काठमाडौं । वैदेशिक रोजगारीको सपना बोकेर विदेश उडेका धेरै नेपालीहरू स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण (मेडिकल फेल) भएर रित्तो हात फर्किन बाध्य भएका छन् । यसरी फर्किनेमध्ये २० प्रतिशत श्रमिकले कानुनले स्पष्ट तोकेको क्षतिपूर्ति समेत पाएका छैनन् ।
नेपालबाट मेडिकल पासको प्रमाणपत्र बोकेर गएका श्रमिकहरू विदेशमा पुगेपछि स्वास्थ्यमा समस्या देखिएर फर्किने क्रम बढे पनि उनीहरूले पाउनुपर्ने राहत रकममा ठगी भइरहेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले जनाएको छ ।
मञ्चका अनुसार वैदेशिक रोजगार ऐन-२०६४ को दफा ७२ को उपदफा २ ले श्रमिकको पक्षमा स्पष्ट व्यवस्था गरेको छ । उक्त ऐन अनुसार यदि नेपालमा स्वास्थ्य परीक्षण गर्दा योग्य ठहरिएको श्रमिक विदेश पुगेर स्वास्थ्यकै कारण अयोग्य भई स्वदेश फर्किनुपरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्वास्थ्य संस्थाले लिनुपर्छ ।
पीडित श्रमिकको आउने–जाने हवाई टिकट र प्रक्रियागत खर्च व्यवसायीले नै बेहोर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर व्यवहारमा यो कानुन कागजमै सीमित भएको गुनासो बढेको छ ।
मञ्चका अनुसार प्रमुख श्रम गन्तव्य मलेसियामा यो समस्या सबैभन्दा विकराल देखिएको छ । मलेसिया पुगेका हरेक १०० जना श्रमिकमध्ये २० जना स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किरहेका छन् ।
नेपालका मेडिकल सेन्टरले फिट भनेर पठाएका यी श्रमिकहरू उता पुगेर अनफिट हुँदा न त रोजगारी पाउँछन्, न त फर्किँदा लाग्ने खर्च नै फिर्ता पाउँछन् । उल्टै ऋण निकालेर विदेश गएका उनीहरू थप आर्थिक भार बोकेर फर्किन विवश छन् ।
कानुनको पालना गराउनुपर्ने नियमनकारी निकायको फितलो अनुगमनका कारण श्रमिकहरू दोहोरो मारमा परिरहेको मञ्चले बताएको छ ।