काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंकले घटेर दुई हजार ६३१ .१७ को बिन्दुमा कायम भएको हो ।
बुधबार ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता सेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा वित्त समूह १.५९, होटल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फण्ड उपसमूह ०.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ०.७५, विकास बैंक ०.५७, जलविद्युत् ०.५०, लगानी ०.५१, जीवन बिमा १.१८, लघुवित्त ०.४८, निर्जीवन बिमा ०.७४, व्यापार ०.३२ र अन्य समूह ०.५१ प्रतिशतले घटेको छ ।
सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकलगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य २.८५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको १८ करोड ४९ लाख ७६ हजार ७६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।