काठमाडौं । अन्ततस् रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढ्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार (आज) डेढ वर्षदेखि रोकिएको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन ग्लोबल आईएमई क्यापिटललाई निर्देशन दिएको हो ।
बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।
यसअघि २०८१ असार १२ मा रिलायन्सले स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेको थियो ।
सेबोनले मंगलबार निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई लेखेको पत्रमा समेत अदालतको आदेशलाई उल्लेख गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१/०३/१२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’
सेबोनले कम्पनीको सेयर जारी सम्बन्धमा भएको अदालती प्रकृयाको कारण निष्काशनमा विलम्ब भएको जनाएको छ ।
सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया सुरु हुनेछ ।
रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो ।