काठमाडौं । बैंकहरुले अधिविकर्ष (ओभर ड्राफ्ट-ओडी) लगायतका प्रयोजन नखुलेका व्यक्तिगत कर्जा १ करोड रुपैयाँसम्म दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरू प्रतिव्यक्ति १ करोड रुपैयाँसम्म प्रवाह गर्न सक्ने जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरू प्रतिव्यक्ति १ करोड रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ पुर्याउने घोषणा गरेको थियो ।
तर, तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) ५.७५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५.७५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दरको रूपमा रहेको रिपोदरलाई ४.२५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था खारेज गर्न निर्देशन दिएको छ । यसअघि विसं २०८० चैत १ देखि लागु हुने हुने गरी संस्थागत मुद्दती निक्षेपको ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने भन्दा १ प्रतिशत ग्याप राख्न निर्देशन थियो ।