काठमाडौं । जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार (हिजो) गरेको निर्णयअनुसार बीमा कम्पनीहरूलाई सो सम्बन्धी निर्देशन जारी गरेको हो ।
प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यसैगरी, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची–७ बमोजिम नवीकरण दस्तुर १ हजार रुपैयाँ तथा नियमन दस्तुर ५०० गरी जम्मा १ हजार ५०० रुपैयाँमात्र लाग्ने प्राधिकरणले जनाएको छ ।
बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र अनुसूची–७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन् ।
बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ ।