काठमाडौं र ललितपुरका ९ उद्योगलाई कारबाही

काठमाडौं । बजार अनुगमन नियमित गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं र ललितपुरका विभिन्न ९ वटा उद्योग तथा फार्मलाई कारबाही गरेको छ ।

चाडपर्वको समयमा मात्रै बजार अनुगमन गरेको भनी विगतमा आलोचना हुने गरेपछि विभागले पछिल्ला दिनमा देशव्यापी रूपमा स्थानीय प्रशासन, सरोकार भएका निकायको समन्वय र सहभागितामा निरीक्षणलाई तीव्र पारेको हो ।

विभागका अनुसार ललितपुर महानगरपालिका-१५ कुमरीपाटीस्थित युएफओ पाटनलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका-१५ चमतीस्थित रेग्मी ब्याग उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कसुरमा ती फार्मलाई कारबाही गरिएको विभागले उल्लेख गरेको छ । सो दफामा बिलबिजक राख्नुपर्ने व्यवस्था छ । पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरिद गरेका वस्तु वा सेवाको उत्पादक वा खरिद, बिल वा बिजक आफूसँग राख्नुपर्ने व्यवस्था छ । सो व्यवस्था विपरीतका गतिविधि गरेको पाइएकाले योगेन्द्र साडी भण्डारलाई कारबाही गरिएको विभागले जनाएको छ । 

सोही ऐनको दफा ३९ को (१) मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कुनै कसुर गरेको पाइएमा ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । सोही प्रावधान बमोजिम उक्त फर्मलाई कारबाही गरिएको हो ।

मानसरोवर इन्टरप्राइजेज र रविशङ्कर स्टोरलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । विभागले अन्य ५ वटा फार्मलाई भने सामान्य निर्देशन दिएको छ ।

Share News