काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरणदेखि विभिन्न तहका अधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।
सबैभन्दा पहिले मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फारम वितरण सक्ने निर्णय गरिएको छ । त्यसपछि पुस ८ गतेभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा सदस्यता वितरणको काम पूरा गरिनेछ ।
नवीकरण भएका क्रियाशील सदस्यहरूको अन्तिम सूची पुस १४ गते कार्यवाहक सभापति र सभापतिसमक्ष बुझाइने कार्यतालिका रहेको छ । विदेशमा रहेका संरचनालाई पनि प्रक्रियामा समावेश गर्दै पुस १५ गतेभित्र जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी पार्टीले गरेको छ ।
आन्तरिक संरचनाको अधिवेशन श्रृंखला पुस १६ गते सुरु हुने तालिकामा सार्वजनिक गरिएको छ । जसअन्तर्गत गाउँ र नगरका वडा तहका अधिवेशन पुस १५ गते हुने जनाइएको छ ।
पुस १७ गते गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन र पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गरिने छ । एक मात्र क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पुस २१ मा गरिने तालिकामा जनाइएको छ । पुस २२ गते एकभन्दा बढी क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरिनेछ ।
प्रदेशस्तरीय अधिवेशन पुस २३ र २४ गते सम्पन्न हुनेछन् । यस्तै, केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन गरिने छ ।