मुलुकमा लगानीमैत्री नीतिको अभावमा युवाहरू विदेशिनु पर्‍यो : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभाव रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले लगानीमैत्री नीतिको अभावमा मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसकेको बताएका हुन् ।

उनकाअनुसार आर्थिक नीति लगानीमैत्री हुन नसक्दा देशभित्रै रोजगारीको अवसर सिर्जना गराउन अप्ठ्यारो परेको बताए । प्रतिदिन २५ सय युवाहरू स्वदेशमै रोजगारी नहुँदा विदेशिनु परेको बताउँदै सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने जानकारी दिए ।

अध्यक्ष अग्रवालले भने– ‘अपार प्राकृतिक स्रोतहरूले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिको अभावले देशले आर्थिक समृद्धि हासिल गर्नु त परै जाओस्, आफ्ना युवा जनशक्तिका लागि रोजगारी सिर्जना गर्न समेत सकेको छैन । प्रतिदिन २५ सय युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिनुपरेको छ । यही नै युवाहरुमा देखिएको असन्तुष्टीको कारण हो ।’

लगानीमैत्री वातावरणको लागि पहिलो आवश्यकता सुरक्षा नै रहेको उनले बताए । अग्रवालका अनुसार लगानीकर्ताको मनोबल उकास्न सरकारले लगानी सुरक्षण सम्बन्धी नीति ल्याउनुपर्छ ।

Share News