काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् ।
उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पत्ति सिर्जना गरे पनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ ।
विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ ।
उनले भने, ‘मुलुकमा जो सुकैले सम्पत्ति सिर्जना गरे पनि कसैले हाइड्रोपावर बनायो, कसैले डिपार्टमेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो कि विदेशीले लगानी गरेको भन्ने कुरा कतिपनि मतलब राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौँ ।’
उनले सही सूचना प्रवाह नहुँदा पनि आपराधिक गतिविधिहरू बढ्ने गरेको बताए । सूचनाको गम्भीरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।