चिनियाँ ‍कारखानामा अप्रत्याशित संकुचन

अर्थतन्त्रमा गिरावटको संकेत

चीनको शानदोंग प्रान्तको यान्टाई सहरस्थित यान्टाई बन्दरगाहमा चीनमा बनेका सवारीसाधन र निर्माण उपकरणहरू निर्यातका लागि पठाइँदै । तस्बिर : Costfoto | Nurphoto | Getty Images

काठमाडौं । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको कारखाना गतिविधि नोभेम्बरमा अप्रत्याशित रूपमा संकुचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबार सार्वजनिक गरिएको एक निजी सर्वेक्षणले घरेलु माग कमजोर रहँदा यस्तो भएको हो ।

एसएन्डपी ग्लोबलले सञ्चालन गरेको रेटिङडग चीन जनरल म्यानुफ्याक्चरिङ पीएमआई नोभेम्बरमा ४९.९ मा झरेको छ, जुन रोयटर्सको सर्वेक्षणमा विश्लेषकहरूले गरेका ५०.५ को अपेक्षाभन्दा कम हो । ५० भन्दा माथिको सूचकांकले विस्तार र तलको सूचकांकले संकुचन जनाउँछ ।

निजी सर्वेक्षणले सामान्यतया निर्यातमुखी उद्योगहरूलाई केन्द्रित गर्ने भएकाले सरकारी सर्वेक्षणभन्दा केही सकारात्मक चित्र दिने गर्दछ । तर यसपटक सेप्टेम्बरको ५१.२ र अक्टोबरको ५०.६ बाट घटेर ४९.९ मा झरेको छ।

आइतबार सार्वजनिक गरिएको सरकारी म्यानुफ्याक्चरिङ पीएमआईले पनि चीनको कारखाना गतिविधि नोभेम्बरमा लगातार आठौं महिनासम्म संकुचित भएको देखायो, सूचकांक ४९.२ रहेको छ, जुन अघिल्लो महिनाको ४९.० भन्दा अलि सुधारिएको मात्र हो ।

रेटिङडगको निजी सर्वेक्षणले ६५० निर्माता समेट्छ र महिनाको दोस्रो भागमा प्रतिक्रिया संकलन गर्छ भने सरकारी पीएमआईले महिनाको अन्त्यमा ३ हजारभन्दा बढी कम्पनी समेट्छ ।

‘नयाँ अर्डरहरू झन्डै ठप्प भएपछि नोभेम्बरमा उत्पादन वृद्धि रोकिएको छ,’ एसएन्डपी ग्लोबल र रेटिङडगले संयुक्त विज्ञप्तिमा भनेका छन् । यद्यपि नयाँ निर्यात अर्डरहरू आठ महिनामै सबैभन्दा छिटो गतिमा बढेको उल्लेख गरिएको छ ।

‘नयाँ व्यवसाय वृद्धिमा सुस्ती आएको बीच निर्माताहरूले रोजगार कटौती गरे, किनमेल घटाए र भण्डारण व्यवस्थापनमा अझ सतर्क बने,’ रेटिङडगका संस्थापक याओ यूले भने ।

यूका अनुसार डिसेम्बरमा कारखाना गतिविधिमा ‘कमजोर विस्तार’  हुन सक्छ, किनकि नीतिनिर्माताहरू वार्षिक करिब ५ प्रतिशत वृद्धिको लक्ष्य हासिल गर्न खोजिरहेका छन् ।

त्यसैगरी, निर्माण तथा सेवा क्षेत्र समेट्ने सरकारी गैर–म्यानुफ्याक्चरिङ पीएमआई ४९.५ मा झरेको छ । यो सूचकांक २०२२ डिसेम्बरयता पहिलो पटक संकुचित भएको हो । रियल स्टेट तथा आवासीय सेवा क्षेत्र कमजोर हुँदै जाँदा सूचकांक तानिएको बताइएको छ ।

अर्थतन्त्रमा गिरावटको संकेत

विशेषगरी लामो समयदेखि चलिरहेको आवासीय संकट र कमजोर घरेलु मागका कारण यी तथ्यांकहरूले वर्षको अन्तिम त्रैमासमा अर्थतन्त्र थप कमजोर भएको संकेत दिएका छन् । ’

स्थिर पूँजी लगानी (फिक्स्ड–एसेट इनभेष्टमेन्ट) वर्षका पहिलो १० महिनामा १.७ प्रतिशतले घटेको छ । अक्टोबर महिनामा मात्र यो लगानी वर्षको तुलनामा ११.४ प्रतिशत घट्यो, जुन २०२० सुरुवातयता सबैभन्दा खराब आँकडा हो ।

सम्पत्ति (प्रोपर्टी) लगानी पनि पहिलो १० महिनामा १४.७ प्रतिशतले झरेको छ ।

औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशत बढेको भए पनि खुद्रा बिक्री लगातार पाँचौं महिनासम्म सुस्तिँदै २.९ प्रतिशतमा सीमित रह्यो । यी दुवै अगस्त २०२४ यताका सबैभन्दा कमजोर स्तर हुन् ।

यस्तै, चीनको निर्यात पनि अक्टोबरमा अप्रत्याशित रूपमा १.१ प्रतिशतले घट्यो ।

‌ओसीबीसी बैंकका एशिया म्याक्रो अनुसन्धान प्रमुख टोमी शिएका अनुसार ताजा तथ्यांकले चीनको चौथो त्रैमासिक वृद्धि ४.८ प्रतिशतबाट झर्दै ४.५ प्रतिशतभन्दा कममा जान सक्ने देखिएको छ ।

उनीका अनुसार यस महिनाको पोलिटब्युरो बैठक र आगामी केन्द्रीय आर्थिक कार्य सम्मेलन (सीईडब्ल्यूसी) महत्त्वपूर्ण हुनेछन्, जसले २०२६ को आर्थिक प्राथमिकता संकेत गर्नेछ ।

अमेरिकासँगको तनाव केही कम

अक्टोबर अन्त्यमा दक्षिण कोरियामा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएपछि अस्थायी व्यापार समझदारी बनेसँगै दुई देशबीचको तनाव केही कम भएको छ ।

सम्झौताअनुसार अमेरिका चीनका निर्यातमाथिका उच्च ट्यारिफ कम गर्न तयार भएको छ । त्यसैगरी, चीनले अवैध फेण्टानिल व्यापार नियन्त्रण गर्ने, रेयर अर्थहरूको निर्यात नियन्त्रण स्थगित गर्ने, अमेरिकी सोयाबिन खरिद पुनः सुरु गर्ने जनाइएको छ।

अमेरिकाले एक वर्षका लागि बन्दरगाह शुल्क स्थगित गर्ने तथा केही चिनियाँ कम्पनीहरूलाई प्राविधिक प्रतिबन्धबाट तात्कालिक रूपमा रोक्ने पनि स्वीकारेको छ।

यद्यपि बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार व्यापार युद्धमा आएको आरामले अनिश्चितता केही कम भए पनि घरेलु उपभोग र लगानी कमजोर भएको कारण मागमा ठोस सुधार छिट्टै आउन नसक्ने देखिन्छ ।

उनीहरूका अनुसार आगामी वर्ष पनि चीनमा मुद्रास्फीति जोखिम कायम रहनेछ किनकि समग्र माग लामो समयसम्म सुस्त रहने संकेत छ ।

२०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?

Share News