टाटा ईभीको बुढानीलकण्ठ स्कुलमा ‘कार्निभल’ चित्रकला कार्यक्रम सम्पन्न

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुलमा 'कार्निभल' अन्तर–स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै कार्यक्रममा १० निजी र ६ सामुदायिक विद्यालय गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरू सहभागी भए भने १९ जना पेशेवर कलाकार उपस्थित भई विद्यार्थीलाइ मार्गदर्शन तथा प्रेरणा प्रदान गरे ।

चित्रकला कार्यक्रम कक्षा ५–८ र कक्षा ९–१२ गरी दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूले वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयमा आफ्ना विचार र सिर्जनशीलता कलाका माध्यमबाट व्यक्त गर्ने अवसर पाए । साथै, कार्यक्रमलाई प्रतियोगिता र कार्यशाला दुवै स्वरूपमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलकी उप–प्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा भयो ।

सो अवसरमा प्रिन्सिपल केशर खुलालले विद्यार्थीको सिर्जनात्मकता विकासका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । पेसेन्जर सेग्मेन्ट प्रमुख सिजापतिले कला केवल मनोरञ्जन नभई सोच र दृष्टिको विस्तार गर्ने शक्तिशाली माध्यम भएको उल्लेख गरे ।

यो कार्यक्रम 'टाटा ईभीको' सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई जोड्दै सकारात्मक परिवर्तन ल्याउन लक्ष्य राखेको छ ।

सिप्रदी ट्रेडिङ र टाटा ईभीले आगामी दिनमा यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई अझ सशक्त रूपमा अघि बढाउँदै विद्यार्थी सशक्तिकरण र सामाजिक योगदानमा निरन्तर प्रतिबद्ध रहने जनाएकाे छ ।

Share News