२५ वर्ष अगाडि कुमारी घरबाट चोरिएको पुरातात्त्विक वस्तु बेलायतबाट फिर्ता

काठमाडौं । पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्त्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो ।

मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा विसं २०५७ मा कुमारी घरबाट चोरी भएको थियो । बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो । प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रकृया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार सो सम्पदा ल्याइएको पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्तिहरू, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रकृया अघि बढाइन्छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

काठमाडौं उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमूना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कला शैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ ।

कला क्षेत्रको विकासमा गर्विलो इतिहास बोकेको सम्पदा संरक्षणले समग्र राष्ट्रको गौरव बढाएको अधिकृत सुवेदीले बताए । 

Share News