काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १.४४ रुपैयाँ घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५.६२ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।