स्मार्ट उर्जा प्रविधिमा चीनको प्रभाव विश्वभर बढ्दै

काठमाडौं । डिजिटल प्रविधिहरूले उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउँदै विश्वव्यापी उर्जा प्रणालीलाई अधिक दक्ष, दिगो र बौद्धिक बनाइरहेको छ । उक्त जानकारी ‘विश्व इन्टरनेट अफ थिङ्ग्स’ सम्मेलन सन् २०२५ मा विशेषज्ञहरूले दिएका थिए । सम्मेलन नोभेम्बर २८-२९ मा बेइजिङमा आयोजना गरिएको थियो ।

सम्मेलनमा बोल्दै,सम्मेलन कार्यसमिति उपाध्यक्ष हे कियाङले डिजिटल उर्जा क्रान्ति अब उर्जा डिजिटल अर्थतन्त्रको मुख्य इन्जिन बनेको बताए । ठूलो डाटाले प्रणाली सञ्चालनमा स्पष्टता ल्याउँछ भने कृत्रिम बुद्धिमत्ता (एआई) ले निर्णय क्षमतासहित प्रणालीलाई बौद्धिक बनाउँछ । ब्लकचेन प्रविधिले वितरण उर्जा कारोबारमा सुरक्षा सुनिश्चित गर्दछ । यी सबै प्रविधिहरू इन्टरनेट अफ थिङ्ग्समार्फत जडान भएर एकीकृत डिजिटल पारिस्थितिकी तन्त्र बनाइरहेका छन् ।

चीन सूचना सङ्घको उर्जा कार्य समिति निर्देशक वाङ योङ्गजिएले प्रविधि मेलमिलापले दुर्गम क्षेत्रमा पनि उर्जा अनुगमन सम्भव भएको बताए । 

उनले भने, ‘हरित सङ्क्रमणको पहलले १३५ भन्दा बढी देशलाई कार्बन शून्यतामा प्रतिबद्ध बनाएको छ । चीनको विश्वव्यापी मागसँग मेल केवल प्राविधिक निर्यात मात्र होइन, विश्व उर्जा व्यवस्थापनको पुनःसंरचना पनि हो ।’

चीन सरकारले सेप्टेम्बर २०२५ मा जारी गरेको नीति अनुसार सन् २०२७ सम्म एकीकृत उर्जा-कृत्रिम बुद्धिमत्ता नवाचार प्रणाली स्थापना गर्ने र सन् २०३० सम्म विश्वस्तरीय कृत्रिम बुद्धिमत्ता प्रयोग हासिल गर्ने लक्ष्य राखेको छ ।

कृत्रिम बुद्धिमत्ता अहिले उर्जा उत्पादन र उपभोगको पूर्वानुमान, बुद्धिमानी व्यवस्थापन, नवीकरणीय उर्जा केन्द्रको दोष पत्ता लगाउने र सञ्चालन सुधारका क्षेत्रमा प्रयोग भइरहेको छ । तर यस क्षेत्रमा अझै प्राविधिक चुनौती समस्या बनेका छन् । 

वाङले भने, ‘पुराना प्रणाली आधुनिक उपकरणसँग मिल्न नसक्ने, सीमा-पार कारोबारमा डाटाको जोखिम रहने र केही बजारमा स्थानीय सहयोगको अभावले नाफा सीमित हुने देखिन्छ ।’

उनले समाधानको रूपमा कृत्रिम बुद्धिमत्ता प्लेटफर्म निर्माण गर्न सुझाव दिनुभएका छन् । यसले साना तथा मध्यम उद्योगहरूको विश्वव्यापी विस्तारलाई सहयोग गर्नेछ ।

‘बौद्धिक रूपमा अन्तरजोडिएको नयाँ अर्थतन्त्र, नयाँ युगको स्मार्ट समाज’ भन्ने विषयमा आयोजित सम्मेलनमा ८० भन्दा बढी देशका अधिकारी, विशेषज्ञ र व्यवसाय प्रतिनिधिहरू सहभागी भएका थिए । उहाँहरूले इन्टरनेट अफ थिङ्ग्सले विश्वव्यापी दिगो डिजिटल रूपान्तरणमा कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा छलफल गरेका थिए ।

Share News